काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएकी छन् । औषधि व्यवस्था विभागको अनुगमनपछि उनले क्यान्सरलगायत औषधिको अभाव हुन नदिन निर्देशन दिएकी हुन्।
उनले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेस गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइन्।
साथै, मन्त्री मेहताले विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण अविलम्ब पेस गर्न आग्रह निर्देशन दिएकी छन् ।
मन्त्री मेहताले सरकारबाट निःशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराइने औषधीको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएकी छन् ।
विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागका कामकारबाहीबारे जानकारी गराएका थिइन्।