रौतहट - बेवारिसे अवस्थामा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको एक सवारी साधन भन्सार कार्यालय पठाएको छ।
रौतहटको गौर नगरपालिकामा बेवारिसे अवस्थामा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको एक सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको हाे ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–३ स्थित जनक बोर्डिङ स्कुलको गल्लीमा विगत तीन–चार दिनदेखि BR.01DT-9556 नम्बरको गाडी बेवारिसे अवस्थामा पार्किङ गरिएको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
मिति २०८३ जेठ १२ गते राति करिब १०ः३० बजे प्रहरी टोली घटनास्थलमा पुगेर सवारी धनीको खोजी तथा सम्पर्कको प्रयास गरे पनि कोही सम्पर्कमा नआएको जनाइएको छ। त्यसपछि प्रहरीले उक्त सवारी साधनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएकाे हाे ।
प्रहरीले गाडीको इन्जिन नम्बर, च्यासिस नम्बर, नम्बर प्लेट तथा अन्य कागजातहरूको परीक्षण गर्दा नम्बर प्लेट नक्कली (फेक) रहेको, च्यासिस नम्बरमा छेडछाड (ट्याम्पर) गरिएको तथा सवारीसँग सम्बन्धित आवश्यक कागजात र भन्सार प्रज्ञापनपत्र समेत नभेटिएको जनाएको छ।
प्रहरीका अनुसार उक्त क्रेटा गाडीको अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ कायम गरिएको छ। आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गाडीलाई मिति २०८३ जेठ १८ गते गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।