- केपी ओली नेतृत्वको सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएसँगै डेढ दर्जन मुलुकका कूटनीतिक नियोगमा राजदूत पद रिक्त छन
- कम्तीमा ३५ वर्ष पुगेको नेपाली नागरिकले जेठ २२ गते साँझसम्म आवेदन दिन सक्ने
- आम नागरिकले आफ्नो व्यक्तिगत आवेदन सँगसँगै दोस्रो व्यक्तिको नाम पनि सिफारिस गर्न सक्ने
काठमाडौं- सरकारले राजदूत नियुक्ती खुल्ला प्रतिस्पर्धाबाट गराउने भएको छ । सरकारले भारत, चीन, अमेरिकालगायत डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गराउने भएको हो ।
बिहीबार परराष्ट्र मन्त्रालयले रक्ति रहेको स्थानमा राजदूत नियुक्ती गर्न आवेदन आह्वान गरेको छ । ‘नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवद्र्धन गर्नका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि नेपालको राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकहरूको दरखास्त/सिफारिस आह्वान गरेको छ,’ परराष्ट्रको सूचनामा भनिएको छ ।
केपी ओली नेतृत्वको सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएसँगै डेढ दर्जन मुलुकका कूटनीतिक नियोगमा राजदूत पद रिक्त छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाइएको थियो । त्यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूत फिर्ता बोलाएको थियो ।
यसअघि राजनीतिक भागबण्डको आधारमा राजदूत नियुक्त हुँदै आएकोमा पहिलो पटक खुला प्रतिस्पर्धात्मक मोडलमा राजदूत नियुक्त गर्न लागेको हो । परराष्ट्रले राजदूतका लागि ‘ट्रम्स अफ रिफरेन्स’ समेत तोकेको छ । इच्छुक नागरिकले यही जेठ २२ (जुन ५) गते साँझ ५ बजेसम्म आवेदन दिन सक्ने परराष्ट्रले जनाएको छ ।
आम नागरिकले आफ्नो व्यक्तिगत आवेदन सँगसँगै दोस्रो व्यक्तिको नाम पनि सिफारिस गर्न सक्ने छन् । ‘यस नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेश गर्न सक्नेछन् साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ, ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रही तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यशर्त बमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारहरूको सिफारिस गर्न सकिनेछ ।’
राजदूत बन्न कम्तीमा ३५ वर्ष उमेर पुगेको, मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह पास गरेको र अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिमा अनुभव अनिवार्य गरिएको छ ।यसैगरी भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित कसुरमा दोषी ठहर नभएको, कुनै पनि देशमा स्थायी बसोबासको अनुमति नलिएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
आवेदन परेपछि यसको अन्तिम छनोट भने परराष्ट्रले गर्ने र मन्त्रिपरिषद्ले नाम सिफारिस गर्ने बताइएको छ । ‘मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरूबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारहरूको सर्टलिस्ट गर्नेछ । सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ,’ सूचनामा भनिएको छ । राजदूतको कार्यकाल चार वर्षको हुने र तलब र सुविधा विशिष्ट श्रेणीका सरकारी कर्मचारी सरह हुने छ ।
नेपालले हाल ३४ देशमा राजदूत र १० देशमा महावाणिज्यदूत नियुक्त गर्दै आएको छ । यीमध्ये १७ देशमा अहिले नै राजदूत रिक्त छन् भने त्यसबाहेक ब्राजिल, म्यानमार, ओमान, अष्ट्रिया, बंगलादेश, इजिप्ट लगायत केही देशका राजदूतको कार्यकाल केही महिनामै सकिँदैछ ।