काठमाडौं - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच मंगलबार नेपाल चेम्बर अफ कमर्स सचिवालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध, लगानी प्रवद्र्धन, पर्यटन विकास तथा खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षालगायतका विषयमा विस्तृत छलफल भएको हाे।
उक्त अवसरमा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालका लागि अत्यन्त महत्वपूर्ण आर्थिक साझेदार रहेको बताए । विशेषगरी वैदेशिक रोजगारी, विप्रेषण (रेमिट्यान्स) तथा लगानीका सम्भावनाका कारण साउदी अरेबियाको भूमिका नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
उनले हाल नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय व्यापार करिब १० मिलियन अमेरिकी डलर रहेको जानकारी दिँदै करिब ९ मिलियन डलर बराबरको आयात तथा १ मिलियन डलर बराबरको निर्यात भइरहेको बताए । श्रम सहकार्यमा मात्र सीमित नभई व्यापार, पर्यटन, लगानी तथा आर्थिक विकासका क्षेत्रमा समेत सहकार्य विस्तार गर्नुपर्ने उनको धारणा थियो ।
अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जडीबुटी, सूचना प्रविधिलगायतका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनपछि स्थिर सरकार बनेकाले निजी क्षेत्र उत्साहित रहेको र नेपालमा साउदी लगानी विस्तार गर्न आग्रह गरे ।
खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै उनले साउदी अरेबियाले हजारौं नेपाली युवालाई रोजगारी प्रदान गर्दै आएको बताउनुभयो । निर्माण, पूर्वाधार, सुरक्षा सेवा, आतिथ्य तथा पर्यटन, स्वास्थ्य सेवा, यातायात तथा लजिस्टिक्स क्षेत्रमा नेपालीहरू कार्यरत रहेको जानकारी उनले दिए ।
उनले साउदी अरेबियाको “भिजन २०३०” कार्यक्रमले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै नियोम, द रेड सी परियोजना तथा क्युदिया जस्ता मेगा परियोजनाहरूमा नेपाली जनशक्ति, ठेकेदार तथा सहयोगी उद्योगहरूले योगदान दिन सक्ने बताए ।
भेटका क्रममा राजदूत मनिखरले साउदी अरेबिया विदेशी लगानी तथा आर्थिक साझेदारीका लागि खुला हुँदै गएको बताए । आगामी सन् २०३४ को फिफा विश्वकप तथा एक्स्पो २०३० जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विभिन्न क्षेत्रमा लगानी सहकार्यका थप अवसर सिर्जना गर्ने उनको भनाइ थियो । साउदी अरबमा पछिल्लो समय अन्तराष्र्टिय कम्पनीहरु भित्रने क्रम बढेको तथा विदेशी लगानी थप आकर्षित हुँदै गएको बताए ।
छलफलका क्रममा पश्चिम एसियाको विकसित परिस्थितिबारे समेत विचार आदानप्रदान भएको थियो । विशेषगरी त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र हितका विषयमा दुवै पक्षले चासो व्यक्त गरेका थिए । राजदूत मिनखरले आफ्नो कार्यकालमा नेपाल-साउदी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
भेटका अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले नेपालमा लगानीको वातावरण अत्यन्तै सकारात्मक बन्दै गएको बताए । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
त्यसयता दुई देशबीचको सम्बन्ध श्रम सहकार्यबाट अघि बढ्दै व्यापार, पर्यटन, सुरक्षा, पूर्वाधार तथा लगानी सहकार्यासम्म विस्तार भएको छ । नेपालले सन् १९७८ मा रियादमा आफ्नो दूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०२२ मा काठमाडौंमा दूतावास स्थापना गरेको हो ।