झापा- भारतसँग सीमा जोडिएका झापाका विभिन्न नाकामा रोहिङ्ग्या शरणार्थीसहित विदेशी नागरिकको अनधिकृत प्रवेश रोक्न सुरक्षा सतर्कता उच्च पारिएको छ । गृह मन्त्रालयको निर्देशनानुसार विदेशी नागरिकको अवैध प्रवेश नियन्त्रण गर्न सुरक्षा संयन्त्र सक्रिय रूपमा परिचालन गरिएको झापाका सहायक प्रजिअ प्रसाईंले जानकारी दिएका हुन् ।
काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा, केचना र बाहुनडाँगी जस्ता संवेदनशील सीमावर्ती क्षेत्रमा अनधिकृत घुसपैठ हुनसक्ने सूचना प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए । छिमेकी मुलुक भारतका पश्चिम बङ्गाललगायत विभिन्न प्रान्तमा अनधिकृत बसोबास गर्दै आएका आप्रवासीलाई स्वदेश फर्काउने अभियान सुरु हुनसक्ने चर्चासँगै उनीहरू नेपालतर्फ प्रवेश गर्नसक्ने आँकलन गरिएको छ ।
यसैक्रममा सशस्त्र प्रहरी बलको २ नं गणले पूर्वी नाका काँकडभिट्टामा स्थानीय बासिन्दालाई सचेत गराउँदै कुनै पनि विदेशी नागरिकको शङ्कास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन माइकिङमार्फत आग्रह गरेको छ । म्यान्माबाट विस्थापित भई बङ्गलादेश पुगेका रोहिङ्ग्या समुदायका व्यक्ति सुरक्षित आश्रयको खोजीमा विभिन्न देशमा फैलिरहेका छन् ।