काठमाडौं - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मंगलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।
कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको छ ।