काठमाडौं- ललितकला क्षेत्रको महोत्सव मानिने नेपाली ललितकला क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रम ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०८३’ निर्धारित समयमा आयोजना हुने वा नहुनेमा अन्योलता सिर्जना भएको छ । यही जेठ १५ गतेदेखि आयोजना हुने समय तय भएको प्रदर्शनीको यतिबेला आवश्यक तयारी अन्तिम चरणमा पुग्नुपर्नेमा अहिले सबै काम रोकिएको हो ।
प्रदर्शनीको नजिक पुगेको समयमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित सबै प्राज्ञपरिषद् सदस्यको पद खाली भएकाले प्रदर्शनी हुने वा नहुने अनिश्चित देखिएको हो । ललितकलाको इतिहास बोकेको राष्ट्रिय कला प्रदर्शनीमा सातै प्रदेशमा आयोजना गरिएको प्रादेशिक कला प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति समावेश हुँदै आएका थिए ।
यसैबीचबाट दर्जनौँ कलाकृति पुरस्कृत हुने गरेको थियो भने कलामार्फत महत्वपूर्ण योगदान दिएका दुई जना अग्रज कलाकारलाई अरनिको सम्मान दिने गरिएको थियो । प्रदर्शनीमा लुकेर रहेका मौलिक, लोक तथा रैथाने कलाहरू पनि समावेश हुने गरेकाले कला संस्कृति र पहिचान प्रवर्द्धन हुँदै आएको थियो । तर, यसपालि पदाधिकारी नियुक्त नहुँदा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कुनै निर्देशन नआएकाले कला प्रदर्शनीको आवश्यक तयारी रोकिएको प्रतिष्ठानका प्रशासन प्रमुख कमलमणि काफ्लेले जानकारी दिए ।
उनले भने, “अहिले सबै तयारी लगभग अन्तिम चरणमा हुनुपर्ने थियो, प्रदर्शनीको समय अब १३ दिन मात्रै बाँकी छ, मन्त्रालयमा आवश्यक निर्देशनका लागि लेखेर पठाएका छौँ तर आजको मितिसम्म कुनै निर्देशन नभएकाले तयारीका काम सबै रोकिएको छ ।” यसअघि प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न भइसकेको छ । राष्ट्रिय प्रदर्शनीको तयारी सुरु हुने बित्तिकै सबै पदाधिकारी पदमुक्त भएपछि काम अघि बढ्न नसकेको हो । प्रदर्शनी निरन्तर गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जनाउँदै सकेसम्म निर्धारित समयमै प्रदर्शनी हुने बताए।
उनले अहिले पदाधिकारी नियुक्तिका लागि ‘रोष्टर’मा नाम सूचीकृत गर्न सूचना जारी भएको र सोही प्रक्रियामार्फत पदाधिकारी नियुक्ति भई काम अघि बढ्ने बताउँदै नभएमा मन्त्रालयबाट कर्मचारी तोकेर पनि प्रदर्शनीलगायत काम अघि बढाइने जानकारी दिए । प्रतिष्ठानमा दरबन्दी नभएकाले सबै करारका कर्मचारी मात्रै छन् । मन्त्रालयबाट महत्त्वपूर्ण काम नगर्नु र कार्यालयमा कार्यरत सिनियर कर्मचारीबाट काम कारबाही अघि बढाउन निर्देशन भएको छ । करारका कर्मचारी मात्रै भएकाले उनीहरूबाट कुनै काम अघि बढ्नसक्ने नदेखिएको प्रतिष्ठानका प्रशासन प्रमुख काफ्लेले बताए । मन्त्रालयबाट काम अघि बढाउन निर्देशन भए प्रदर्शनीको तयारी अघि बढाउन करारकै कर्मचारी पनि तयार रहेका उनले उल्लेख गरे ।
उनले जेठ पहिलो हप्तासम्म कुनै निर्देशन भए ‘फाष्टट्र्याक’बाट प्रदर्शनी आयोजना गर्न सकिने जनाउँदै त्यसपछि कुनै निर्देशन नआएमा तोकिएको मिति जेठ १५ गते प्रदर्शनी गर्न नसकिने बतनाए । ललितकलाको इतिहास बोकेको कला प्रदर्शनी अर्काे मिति सारेरै भए पनि भने रोक्न नहुनेमा जोड दिइएको छ । ललितकलाका कलाकारले पनि उक्त प्रदर्शनीका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।
कलाकार दिवेश प्रधानले कुनै अग्रज कलाकारको नेतृत्वमा समिति बनाएर वा सरकारले मन्त्रालयका कर्मचारीलाई प्रतिनिधि तोकेर भए पनि कला प्रदर्शनी गर्नुपर्ने सुझाव दिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले सरकारले जिम्मेवारी दिएमा कुनै सेवासुविधा नलिई स्वयंसेवी रूपमा प्रदर्शनी सम्पन्न गर्न आफूहरू तयार रहेको बताए ।
विसं २०२२ मा स्थापना भएको नेपाल ललितकला संस्थाले ललितकला प्रदर्शनीसहित सम्मान पुरस्कारको सुरुआत गरेको थियो । विसं २०६६ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान स्थापनापछि उक्त प्रदर्शनी नियमित रूपमा हुँदै आएको थियो । यसपालि भने अन्योलको अवस्था सिर्जना हुनु सकारात्मक नभएको कलाकारहरू बताउँछन् ।