मुस्ताङ-पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको वार्षिक तथ्याङ्कअनुसार यहाँका बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका २३९ पशुधनको क्षति भएको हो ।
कृषि तथा पशुपालन र पर्यटन केन्द्रित जिल्लामा पशुपालन व्यवसाय वर्षौंदेखि गरिँदै आइएको छ । पछिल्लो समय भने यहाँका उच्चलेकका चरनक्षेत्र र बस्तीमा खडा गरिएका याकचौँरी र भेँडाच्याङ्ग्राको वासस्थान वन्यजन्तुको जोखिममा पर्न थालेपछि असुरक्षित बन्दै जान थालेका छन् । मानव–वन्यजन्तु द्वन्द्वका कारण यहाँको परम्परागत पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको स्थानीय बताउँछन् । हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणका कारण पशुधनमा क्षति हुन थालेपछि परम्परागत पशुपालन व्यवसाय जोखिममा पर्न थालेको किसान बताउँछन् ।
हालसम्म तीन पालिकाका ६८ परिवार घरधुरीका २३९ वटा पशुधनमा हिउँ चितुवा, चितुवा र ब्वाँसोले क्षति पु¥याएको एक्यापका प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार पछिल्लो चार आर्थिक वर्षमा वन्यजन्तुका कारण १२ याक, सात चाैंरी, ११७ च्याङ्ग्रा, ३८ भेँडाबाख्रा, दुई खच्चड र आठ वठा घोडा मरेका छन् भने बाँकी अरु पशुधन रहेका छन् ।
यहाँका तीन गाउँपालिकाअन्तर्गत पहिलो आव २०७९/८० मा ३१, आव २०८०/८१ मा ५६, आव २०८१/८२ मा ८६ र चालु आवको वैशाखसम्म ६६ वटा पशुधनमा वन्यजन्तुले क्षति पु¥याएका एक्याप प्रमुख गुप्ताले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा व्न्यजन्तु संरक्षण विभागको वन्यजन्तु क्षति राहत निर्देशिका, २०८० अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तुबाट क्षति भएका पीडित किसानलाई क्षतिपूर्तिबापत राहत रकम उपलब्ध गराउँदै आइरहेको छ । उक्त निर्देशिका अनुसार याकचौँरी, घोडा र खच्चडको बढीमा ६० हजार रुपैयाँ र भेँडाच्याङ्ग्राको बढीमा १० हजार रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने गरिएको एक्याप जोमसोमका प्रमुख गुप्ताले बताए ।
एक्याप जोमसोमले यहाँका तीन पालिकाका पीडित किसानलाई चार आर्थिक वर्षमा पशुधन क्षतिबापत २५ लाख २१ हजार रुपैयाँ राहत हस्तान्तरण गरिसकेको उनले जानकारी दिए । उनका अनुसार चालु आवको वैशाखसम्मको क्षतिपूर्तिबापतको पाँच लाख २९ हजार रुपैयाँ सम्बन्धित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको छ ।
यसैगरी एक्याप संरक्षित उपल्लो मुस्ताङमा पनि एक्याप लोमान्थाङले पछिल्लो तीन आर्थिक वर्षमा वन्यजन्तुबाट भएका पशुधन क्षतिको राहत उपलब्ध गराएको छ । तीन आवमा ४५ लाख ९९ हजार रुपैयाँ पीडित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको एक्याप लोमान्थाङ कार्यालयले जनाएको छ । जलवायु परिवर्तनका कारण उच्चलेक, खर्क र पाटनमा पानीका स्रोत घट्दै जानु, चरनक्षेत्रमा घाँस पलाउन कम हुनु र जङ्गली जनावर तथा हिउँ चितुवा आहारा प्रजाति पछ्याउँदै स्ती नजिक झर्नुलगायत कारणले यहाँका पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेका एक्याप प्रमुख गुप्ताले बताए ।
जलवायु परिवर्तनका कारण हिउँ चितुवालगायत जङ्गली वन्यजन्तु आहार पछ्याउँदै बस्तीमा देखा पर्न थालेकाले जोखिम थप बढ्दै गएको उनको भनाइ छ । यहाँका पशुपालक किसानको पशुचौपाया पालन गर्ने गोठ र खोरहरू गुणस्तरीय र दिगो भौतिक संरचना नहुँदा पनि वन्यजन्तुले पशुधनमा क्षति पु¥याउने क्रम बढेको एक्याप कार्यालयले जनाएको छ ।