एएफपी- रुस र युक्रेनले शुक्रबार २०५-२०५ जना युद्धबन्दी आदानप्रदान गरेका छन् । लामो समयदेखि जारी युद्धबीच कैदी साटासाटलाई दुवै पक्षबीच बाँकी रहेका सीमित मानवीय सहकार्यहरूमध्ये एक मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताअघि ठूलो स्तरको युद्धबन्दी आदानप्रदानको घोषणा गरेपछि भएको यो पहिलो चरणको विनिमय हो ।
रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा २०५ जना रूसी सैनिकहरू युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रबाट फर्काइएको जनाएको छ । त्यसको बदलामा २०५ जना युक्रेनी युद्धबन्दीलाई रुसले हस्तान्तरण गरेको मन्त्रालयले उल्लेख गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि युद्धबन्दी फिर्ता भएको पुष्टि गर्दै अधिकांश युक्रेनी सैनिक सन् २०२२ देखि रुसी नियन्त्रणमा रहेको बताए । उनले यो आदानप्रदान ‘एक हजार–एक हजार’ कैदी साटासाट योजनाको पहिलो चरण भएको जानकारी दिए ।
जेलेन्स्कीले सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गरेका तस्वीरहरूमा रिहा भएका युक्रेनी सैनिकहरू राष्ट्रिय नीलो-पहेँलो झण्डा ओढेर मुस्कुराउँदै एकअर्कालाई अँगालो हालेको देखिन्छ । उनका अनुसार फिर्ता भएका सैनिकहरूमा मारिउपोलस्थित एजोभस्टाल स्टिल कारखानाको भीषण युद्धमा सहभागी लडाकूहरू पनि छन् । त्यस्तै सन् २०२२ को आक्रमणको प्रारम्भिक चरणमा केही समय रुसी नियन्त्रणमा गएको चेर्नोबिल क्षेत्रको रक्षा गरेका सैनिकहरू पनि आदानप्रदानमा समावेश रहेको बताइएको छ ।
गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको सहमति बनेको घोषणा गरेका थिए । त्यतिबेला उनले रुसको मे ९ विजय दिवस परेडसँग जोडिएको तीन दिने युद्धविरामका लागि अमेरिकी मध्यस्थताको पनि उल्लेख गरेका थिए।
तर दुवै पक्षले युद्धविराम उल्लङ्घन गरेको आरोप एकअर्कामाथि लगाइरहेका छन् । युक्रेनले युद्धविरामको अवधि समाप्त भएपछि रुसले पुनः नागरिक क्षेत्रमाथि आक्रमण गरेको दाबी गरेको छ । बिहीबार किएभमा भएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि दुई देशबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ । युद्ध जारी रहे पनि युद्धबन्दी आदानप्रदान भने दुवै पक्षबीच कायम रहेको दुर्लभ सहकार्यको माध्यम बनेको छ । रूसी रक्षा मन्त्रालयका अनुसार फिर्ता गरिएका रूसी सैनिकहरूलाई सहयोगी राष्ट्र बेलारुस लगिएको छ, जहाँ उनीहरूलाई मनोवैज्ञानिक तथा स्वास्थ्य उपचार उपलब्ध गराइँदैछ ।मन्त्रालयले संयुक्त अरब इमिरेट्सले युद्धबन्दी फिर्ता प्रक्रियामा मानवीय सहयोग उपलब्ध गराएको पनि जनाएको छ ।