काठमाडौं -कांग्रेस सांसद रामबहादुर थापा बादलले प्रतिनिधिसभामा प्रयोग गरेका असंसदीय शब्द संसद्को आधिकारिक रेकर्डबाट हटाइएको छ ।डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत अभिव्यक्ति प्रयोग भएको ठहर गर्दै संसद् सचिवालयलाई ती शब्द हटाउन रूलिङ गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीमा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने आचरण र मर्यादाबारे स्पष्ट व्यवस्था गरिएको छ । नियमावलीअनुसार सदस्यले सभामुखको अनुमति पाएपछि मात्रै बोल्नुपर्ने, सभामुखको आचरणमाथि अनावश्यक टिप्पणी गर्न नपाइने तथा संविधानले बन्देज गरेका विषयमा छलफल गर्न नहुने उल्लेख छ ।
त्यस्तै, अशिष्ट, अपमानजनक, आपत्तिजनक वा सार्वजनिक नैतिकता विपरीत हुने शब्द प्रयोग गर्न नपाइने प्रावधान पनि नियमावलीमा समेटिएको छ । कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने अभिव्यक्ति दिन नहुने तथा सदनको कामकारबाही अवरुद्ध पार्ने उद्देश्यले बोल्ने अधिकारको दुरुपयोग गर्न नहुने व्यवस्था समेत गरिएको छ ।
संसद्मा पछिल्ला दिनमा चर्को राजनीतिक आरोप–प्रत्यारोप भइरहेका बेला सभामुखको यो रूलिङलाई संसदीय मर्यादा कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।