काठमाडौं - प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको सचिव पदका लागि प्रकाश अधिकारीको नाम सिफारिस गरेका छन् ।हालका सचिव हर्कराज राईलाई हटाएर अधिकारीलाई उक्त जिम्मेवारीमा ल्याउन लागिएको हो ।
नेपालको संविधानको धारा १०६ को उपधारा १ अनुसार सभामुखको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको सचिव नियुक्त गर्ने व्यवस्था रहेको छ ।संविधानमा संघीय संसद्को महासचिव संयुक्त सिफारिसमा नियुक्त हुने तथा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिव क्रमशः सभामुख र अध्यक्षको सिफारिसमा नियुक्त हुने व्यवस्था उल्लेख गरिएको छ ।
खाँदबारी नगरपालिका वडा नं. ३ निवासी अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । साथै उनले प्याेङयाेङ विश्वविद्यालय(Pyeongtaek University)बाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा पनि स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
निजामती सेवामा २४ वर्ष अनुभव संगालेका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका सर्त तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार विशिष्ट श्रेणीको सचिवसरह सुविधा पाउने गरी उनको नाम राष्ट्रपति समक्ष सिफारिस गरिएको हो ।