एएफपी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अघि सारेका पूर्व जर्मन नेता गेरहार्ड श्रोडरलाई युक्रेन युद्धबारे युरोपसँग मध्यस्थता गर्ने मध्यस्थकर्ताका रूपमा गरेको प्रस्तावलाई स्वीकार्न नसकिने सोमबार युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लासले बताएका छन्।
कल्लासले ब्रसेल्समा विदेश मन्त्रीहरूको वार्ताअघि पत्रकारहरूसँग भने, “यदि हामीले हाम्रो तर्फबाट वार्ताकार नियुक्त गर्ने स्थान र अधिकार रुसलाई दियौँ भने त्यो बुद्धिमानी हुनेछैन।” उनले भने, “श्रोडर रूसी राज्यको स्वामित्वमा रहेका कम्पनीहरूको पक्षधरता लिने उच्च-स्तरीय अधिकारी हुनुहुन्छ । यो स्पष्ट छ कि नेता पुटिनले किन उहाँलाई अघि सार्न चाहनुहुन्छ । वास्तवमा, उहाँ वार्तामा बस्नु भनेको टेबलको दुबै छेउबाट रूसको पक्षमा वार्तालाई अघि बढाउनु हुनेछ।”
शनिबार युरोपसँग वार्ता पुनः सुरु गर्न कसलाई सहयोग गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा पुटिनले सन् १९९८ देखि २००५ सम्म जर्मनीको नेतृत्व गरेका श्रोडरलाई व्यक्तिगत रूपमा प्राथमिकता दिने बताएका थिए । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेयता अधिकांश पश्चिमी नेताहरूबाट अलग रहेका उनकाे पद छोडेपछि लामो समयसम्म क्रेमलिनको नजिक रहेकाे ब्रसेल्सको बुझाइ छ ।
उमेरले असी दशक काटेका (८२ वर्षीय) उनले पहिले रूसी ऊर्जा परियोजनाहरूमा प्रमुख भूमिका खेलेका थिए। उनले ‘नोर्ड स्ट्रिम ग्यास पाइपलाइन’ मा काम गरेका थिए भनेरूसी तेल फर्म ‘रोसनेफ्ट’को एक बोर्ड सदस्यका रूपमा पनि काम गरेका थिए । उनी ‘रोसनेफ्ट’ बाट सन् २०२२ देखि अलग भएका थिए ।
पुटिनसँग प्रत्यक्ष रूपमा बृहत् वार्ता गर्ने बिषयमा गरिएको प्रश्नमा कल्लासले भने, “युरोपेली सङ्घका सदस्य देशहरूले पहिले त्यस्ता कुनै पनि वार्ताबाट उद्देश्य मिलाउने प्रयास गर्नुपर्दछ । यस महिनाको अन्त्यमा हुने विदेश मन्त्रीहरूको अनौपचारिक वार्तामा यस किसिमको वार्ता गर्न सकिनेछ।”
“रूससँग छलफल गर्नु अघि, हामी उनीहरूसँग के कुरा गर्ने भन्ने बिषयमा छलफल गर्नुपर्छ,” कल्लासले थपे । बर्लिनले पनि पुटिनको श्रोडरलाई मान्ने प्रस्तावमा शङ्का व्यक्त गर्दै प्रतिक्रिया व्यक्त गरेको छ । जर्मनका सरकारी स्रोतहरूले आइतबार एएफपीलाई दिएको जानकारी अनुसार उनीहरूले यसलाई रूसबाट ‘फर्जी प्रस्तावहरूको श्रृङ्खला’ को एक भागको रूपमा हेरेका छन्।
श्रोडरको अडानले उनलाई विवादास्पद व्यक्तिका रूपमा खडा गरेको छ । उनले कहिल्यै पनि सार्वजनिक रूपमा युक्रेनमा रूसको आक्रमणको निन्दा गरेका छैन, जसले उनलाई पूर्व चान्सलरहरूलाई सामान्यतया प्रदान गर्ने धेरै विशेषाधिकारहरू प्राप्त गर्नबाट पछि पारेको छ ।