काठमाडौं- सरकारले विदेशस्थित १५ जना अवैतानिक वाणिज्य दूत तथा काउन्सिलरहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हाे ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकले यही वैशाख २८ गते सोमबार मध्यान्ह ४ बजे बस्ने संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । यी निर्णयहरुले अन्तर्राष्ट्रिश्रम मापदण्ड र श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने सरकारको विश्वास रहेको छ ।