काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउने बताएका छन् । राष्ट्रपति भवनमा आज आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उनले साहित्य, कला र सङ्गीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले साहित्य, कला र सङ्गीत राष्ट्रिय सम्पत्ति र पहिचानका आधार भएका उल्लेख गर्दै भने, “बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हुन् ।”
उनले नेपाली गीतसङ्गीतको प्रवर्द्धनमा जोड दिँदै यसको विकास तथा आधुनिकताबीच सन्तुलन कायम गर्नुपर्ने विचार व्यक्त गरे। राष्ट्रपतिले परम्परागत शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु सर्जकहरूका निम्ति चुनौती र अवसर दुवै भएका बताए ।
राष्ट्रपति पौडेलले गीतसङ्गीतका क्षेत्रमा लागेकाहरुलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न नहुने बताए । उनले भने, “त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।” उनले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पु¥याउनुभएको योगदान अनुकरणीय रहेको बताउदै भने, “नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीतसङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ ।”