पाँचथर- यहाँको यासोक बजार बुधबारदेखि ध्वजापताकाले सिङ्गारेर चिरिच्याट्ट छ । सर्वसाधारणहरु साना ठूला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धाननाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बुधबारदेखि त्रिसाली मेला सुरु भएको छ । जिल्लाकै पुरानोमध्येको एक यासोक बजारमा हरेक तीन वर्षमा त्रिसाली मेला लाग्ने गर्दछ । तीन वर्षमा लाग्ने भएकाले यो मेलालाई त्रिसाली भन्ने गरिएको हो । त्रिसाली पूजा तथा मेलामा विशेषतः यहाँका दुई वटा माङहिम (पवित्रस्थल) कुम्मायक र कुस्सायकमा पूजा अर्चना गरिन्छ । बुधबार त्रिसाली पूजाको मुख्य दिन यहाँ देश विदेशबाट आएका हजारौँ भक्तजनले पूजा अर्चना गरे । यहाँ सबै समुदायका मानिसले पूजा गर्ने गर्छन् । लिम्बू समुदायले आस्था गर्ने युमा माङले अन्तिम पटक कुम्मायकमा साक्षात दर्शन दिएको जनविश्वास रहेको स्थानीय लालबहादुर सम्बाहाम्फे बताइन्।
कुम्मायक, कुस्सायक क्षेत्र विकास संस्थाका सचिव सम्बाहाम्फेका अनुसार त्रिसाली मेलालाई ‘तङसुम तङनाम’ समेत भन्ने गरिन्छ । लिम्बू भाषामा तङ भनेको वर्ष र सुम भनेको तीन भन्ने हुन्छ । नवौँ शताब्दीका राजा उवाहाङले इलामको चेम्फोजोङमा राजधानी बनाइ राज्य विस्तार गरेको किम्बदन्ती छ । राजा उवाहाङले यहाँ युमा माङसँग शक्ति मागेको र राज्य विस्तार गर्न सफल भएपछि पुनः फर्केर आइ परेवा उडाएर उत्सव मनाएको जनश्रुति छ । यसैका आधारमा यहाँ मेला लाग्न थालेको र उवाहाङकै छोरा माबोहाङले अन्तिम पटक युमा माङको दर्शन पाएको पनि जनश्रुति छ ।

सो मेला भोलि शुक्रबारसम्म चल्नेछ । यस वर्षको मेलामा नेपालका विभिन्न जिल्लासहित भारत, म्यानमार, भुटान, बेलायतलगायत देशबाट मेला भर्न आएको मेला मूल आयोजक समितिका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए। कुम्मायक गाउँपालिका स्थापना हुनुपूर्व यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका भद्रभलाद्मी (तुम्याहाङ) भेला भइ मूल आयोजक समिति र पूजाको साइत जुराउने चलन थियो । गाउँपालिका स्थापनापछि भने गाउँपालिकाले पूजा तथा मेला सञ्चालनका लागि सहजीकरण गर्दै आएको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले बताए ।