काठमाडौं - राष्ट्रपति राम चन्द्र पाैडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले पत्रकारले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने सुनिश्चिततामा सबैको ध्यान जान आवश्यक रहेको बताएका हुन् ।
उनले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै विभिन्न जनआन्दोलन र सङ्घर्षमार्फत नेपाली जनताले व्यक्त गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्ने अभियानमा नेपाली प्रेस अझ प्रभावकारी बन्नुपर्ने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रको योगदान उल्लेखनीय रहेको स्मरण गर्दै संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको बताए । उनले संविधानको मर्मअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे ।
उनले सत्यतथ्य समाचारमार्फत जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म भएको उल्लेख गर्दै नेपाली प्रेस यसप्रति सधैं सजग रहने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले पत्रकारिता परिवर्तनको संवाहक र राष्ट्र निर्माणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त रहेको बताए । साथै स्वतन्त्र पत्रकारिताविना लोकतन्त्रको परिकल्पना गर्न नसकिने धारणा राखे ।
उनले श्रमजीवी पत्रकारको हकहित संरक्षण र सञ्चारगृहको आर्थिक दिगोपनका लागि सरकार तथा निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको बढ्दो प्रयोगले आधारहीन तथा मिथ्या सूचना फैलिने जोखिम बढेको उल्लेख गर्दै उनले यस्तो चुनौती सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गरे ।