काठमाडौं - गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग ले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी दिएको छ।विभागले बुधबार सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा प्राविधिक समस्या देखिएको र मर्मत कार्य जारी रहेकाले केही सेवा प्रभावित भएको जनाएको हो।
सूचनाअनुसार नयाँ दर्ता गर्दा आउने राष्ट्रिय परिचयपत्र नम्बर (NIN) लाई प्रणालीले ‘भ्यालिडेट’ गर्ने सेवा हाल सञ्चालनमा छैन। मर्मत कार्य पूरा नभएसम्म यो सेवा सुचारु हुन नसक्ने विभागले जनाएको छ।अवरुद्ध भएका सेवाहरूमा राष्ट्रिय परिचयपत्र विवरण सच्याउने, जन्म दर्ताका क्रममा NIN Generate हुने सेवा, सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा बायोमेट्रिक सेवा तथा NIDMIS सँग अन्तरसम्बन्धित अन्य सार्वजनिक सेवाहरू समेत रहेका छन्।
विभागले मर्मत कार्य सम्पन्न भएपछि सेवा नियमित हुने जानकारी दिँदै यसबाट सेवाग्राहीमा परेको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, पहिले नै भ्यालिडेट भइसकेका सेवाहरू भने यथावत् सञ्चालनमा रहने उल्लेख गरिएको छ।
