काठमाडौं - सन् २०२६ को अप्रिल महिनामा नेपालमा एक लाख ७ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड ले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त महिनामा कुल एक लाख ७ हजार ९३४ पर्यटक नेपाल आएका हुन्।
बोर्डका अनुसार क्षेत्रगत रूपमा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको ३१ प्रतिशत हो। त्यसपछि अन्य एसियाली राष्ट्रबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७, अफ्रिकाबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक आएका छन्।
मुलुकगत आधारमा भारतपछि चीन नेपालका लागि प्रमुख स्रोत बजारका रूपमा देखिएको छ। तथ्यांकअनुसार भारतबाट सबैभन्दा बढी १५ हजार १९६ पर्यटक आएका छन् भने चीनबाट ११ हजार ७२२ र बंगलादेशबाट ५ हजार २३१ पर्यटक नेपाल भित्रिएका छन्। अन्य एसियाली मुलुक, युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या पनि क्रमशः बढ्दो क्रममा देखिएको छ, जसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ।
तुलनात्मक रूपमा हेर्दा सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपाल आएका थिए भने कोभिड–१९ महामारीअघि सन् २०१९ को अप्रिलमा एक लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए।
पछिल्लो समय पश्चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध, अन्तर्राष्ट्रिय प्रवर्द्धनमा असरलगायत कारणले अप्रिल महिनामा पर्यटक आगमनमा केही कमी आएको विश्लेषण गरिएको छ। पर्यटन क्षेत्रका सरोकारवालाहरूले पर्यटक संख्या वृद्धि गर्न डिजिटल मार्केटिङ सुदृढ बनाउने तथा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन्।
