काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला कार्यसमितिले नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठको स्मृति तथा महासंघको ७५ औं स्थापना दिवसको अवसरमा महासंघका काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललाई कार्यसमितिका अध्यक्ष भिम लामाले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।
काठमाडौंकाे तिलगंगा सञ्चारग्रामा रहेकाे नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे ढाेकामा समितिले विभिन्न ४ बुँदासहित ध्यानाकर्षण गर्न कालाे ब्यानर झुण्ड्याएकाे छ । ब्यानरमा स्व. सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर , जातिय विभेद अन्त्य गर, उच्चस्तरीय समिति गठन गर, इतिहास मेटाउने कार्य बन्द गर जस्ता नारा समावेश छन् ।
बुझाइएकाे ज्ञापनपत्रमा आदिवासी जनजाति समुदायमा जन्मिएका स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठ नेपाली पत्रकारिताका अग्रणी व्यक्तित्व रहेको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। साथै पत्रकारहरूको हक-हित संरक्षण, पेशागत एकता र प्रेस स्वतन्त्रताको प्रवर्द्धनमा उनले खेलेको भूमिकालाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिइएको छ।
वि.सं. २००८ वैशाख ९ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ स्थापना भएको स्मरण गर्दै सो संस्थालाई हालको नेपाल पत्रकार महासंघको आधार मानिएको उल्लेख गरिएको छ। तर वि.सं. २०१२ सालमा पुनर्गठनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नयाँ समिति बनेपछि संस्थापक अध्यक्षको विषयमा विवाद उत्पन्न भएको ज्ञापनपत्रमा जनाइएको छ। महासंघ सम्बद्ध पक्षले भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएकोप्रति आपत्ति जनाउँदै ऐतिहासिक तथ्यलाई सच्याउन माग गरिएको छ।
ज्ञापनपत्रमार्फत स्व. सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रूपमा अभिलेखीकरण गर्न तथा सो सम्बन्धमा उच्चस्तरीय अध्ययन समिति गठन गर्न आग्रह गरिएको छ। साथै फरक समुदायबाट आएका व्यक्तिको योगदानलाई नजरअन्दाज गर्नु विभेदपूर्ण र अन्यायपूर्ण हुने भन्दै यस विषयलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

महासंघका अध्यक्ष अर्यालले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रूपमा स्व. सत्यनारायण बहादुर श्रेष्ठ नै भएधके स्वीकारेकी छिन् । उनले ध्यानाकर्षण ज्ञापनपत्र बुझ्दै भनिन्, 'याे मुद्दा समावेशी भएकाे र नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रूपमा स्व. सत्यनारायण बहादुर श्रेष्ठ नै हाे भन्ने तथ्य सत्य हाे । उहाँ इतिहासका अग्रणी व्यक्तित्व र उहाँका नेतृत्वमा अहिलेकाे नेपाल पत्रकार महासंघ जन्मिएकाे हाे । ' उनले उच्चस्तरीय समिति गठन गरि आवश्यक कदम चालिने प्रतिबद्धता जनाइन् । फोनिज काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष लामाले ऐतिहासिक तथ्य जबसम्म कायम हुँदैन तबसम्म फोनिजकाे कालाे ब्यानर हट्न नदिने बताए ।