वालिङ- विद्यालय बिदाको समयलाई सदुपयोग गर्दै यहाँका बालबालिकालाई सारंगी बजाउन सिकाइँदै छ । जिल्लाको पुतलीबजार नगरपालिकाअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई ज्येष्ठ नागरिकले मौलिक बाजा सारंगी बजाउन सिकाउन थालिएको हो ।
गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप र अनुभव अन्तरपुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत बालबालिकालाई सीप सिकाउन थालिएको छ । एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले विशेष गरी गन्धर्व जातिको मौलिक बाजाका रूपमा रहेको सारंगी नेपाली संस्कृति र परम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए । “आधुनिकतासँगै परम्परागत र मौलिक बाजाको रूपमा रहेको सारंगीप्रति नयाँ पुस्ताको आकर्षण घटिरहेको देखिन्छ”, उनले भने, “त्यसैले नयाँ पुस्तालाई सारंगीको महत्त्वबारे जानकारी दिएर यसको संरक्षण गर्ने उद्देश्यले सीप हस्तान्तरण अभियान अगाडि बढाएका हौँ ।”
स्थानीय सूर्यमान गन्धर्व सारंगी बजाउने सीप हस्तान्तरण गर्नु कला सिकाउनु मात्र नभई संस्कृति, पहिचान र मूल्यलाई जोगाउने महत्त्वपूर्ण कार्य भएको बताए । पुरानो पुस्तामा रहेको सीप, कलाबारे नयाँ पुस्ताले चासो नदिए लोप भएर जाने जोखिमका कारण आफूले पनि बालबालिकालाई प्रशिक्षित गरिरहेको उनको भनाइ छ । गन्धर्वले भने, “हाम्रो मौलिकता र पहिचानसँग जोडिएको बाजाको संरक्षण गर्ने दायित्व सबैको हो । मौलिकता, कला संस्कृति अनि पहिचानको संरक्षणका लागि पनि सारंगी बजाउने सीप हस्तान्तरणले महत्त्वपूर्ण भूमिका खेल्नसक्छ ।”
स्याङ्जा उच्च माविमा कक्षा ७ मा अध्ययनरत जीविका परियार पनि यतिबेला सारंगी बजाउने सीप सिक्दै हुनुहुन्छ । विद्यालय बिदाको समयको सदुपयोग गर्दै आफूले ज्येष्ठ नागरिकबाट मौलिक सांगीतिक बाजा सारंगी बजाउन सिकिरहेको उनले बताए। “पहिला–पहिला अरुले बजाएको बेला सारंगी धुन सुन्ने गरेको थिए, हाल आफैँले सिकेर विभिन्न थरीका धुन निकाल्न पाउँदा निक्कै खुसी लागेको छ”, परियारले भने ।
यस्तै, स्याङ्जाको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत सुशान्त गन्धर्व सारंगीमा विभिन्न धुन बजाउन सिक्दै छन्। आफ्नो मौलिक बाजा बजाउने सीप सिक्न पाउँदा रमाइलो र खुसी लागेको उनले सुनाए । पुतलीबजार नगरपालिकाको लाम्पाटामा सञ्चालन भइरहेको भइरहेको १० दिने सीप हस्तान्तरण अभियानमा २० जना बालबालिका सहभागी छन् । उनीहरूले गन्धर्व जातीका कर्खा, सवाई, चरित्त, चाँचरी, मङ्गलधुन, बाह«मासे र घटनाप्रधान गीतमा सारंगी बजाउन सिकिरहेका छन् ।