काठमाडौं - विवादित व्यवसायी दीपक भट्टसँग जोडिएर आएको विषयमा गृहमन्त्री सुधन गुरुङले स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर कारोबार सम्पत्ति विवरण सार्वजनिकरणमा भएकाे बताउँदै गैरकानुनी काम नगरेको दाबी गरेका हुन् ।
‘२५ लाखको सेयर लुकाइएको’ भनिएको छ,’ उनले भने,’वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो,’ उनले भनेका छन्, ‘सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन ।
‘मन्त्री हुनुअघि सेयर किनियो’ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ ।’ उनले आफूले बैंकबाटै पैसाको कारोबार गरेको उल्लेख गर्दै यी विषय लुकाउनै नसक्ने पनि बताएका छन् । ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ? अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ,’ उनले भनेका छन् ।
उनले ऋण लिइएको रकम बैंकमार्फत नै लिएको र सोही रकम लगानीमा प्रयोग गरिएको भनेका छन् ।
