झापा - पूर्वी नेपालको सीमा नाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द हुने भएको छ । भारतको पश्चिम बंगालमा यही अप्रिल २३ तारिख अर्थात् बैशाख १० गते बिहीबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर सीमा नाका ७२ घण्टा शिल गरिन लागेको हो ।
जिल्ला प्रशासन कार्यालय दार्जिलिङले आइतबार जारी गरेको पत्र अनुसार अप्रिल २० तारिख साँझ ६ बजेदेखि अप्रिल २३ तारिख राति १२ बजे अर्थात् बैशाख ७ गते साँझ ६ बजेदेखि बैशाख १० गते राति १२ बजेसम्म सीमा नाका पूर्ण रुपमा बन्द रहने उल्लेख छ ।
पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधन आउजाउ सो अवधिमा पूर्ण रूप बन्द हुनेछ । अति आवश्यक तथा बिरामीलाई चाहिँ परिचयपत्रसहित आवश्यक कागजात खुलाएर आउजाउ गर्न दिइने, विदेशी पर्यटकलाई सहजीकरण गरिदिने र सड्ने किसिमका खाद्यान्न वस्तुहरू लोड भएका सवारीसाधनलाई अनुमति दिइने पत्रमा उल्लेख छ । यता भद्रपुर गलगलिया सीमा नाका भने खुला रहनेछ ।