वीरगन्ज - भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा योगदान पुर्याएका नेपाल र भारतका स्रष्टाहरूलाई वीरगन्जमा सम्मान गरिएको छ। वीरगन्ज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठान वीरगन्जले शनिबार आयोजना गरेको कार्यक्रममा उनीहरूलाई विभिन्न पुरस्कार प्रदान गर्दै सम्मानित गरिएको हो।
‘भोजपुरी प्रतिष्ठान प्रतिभा पुरस्कार’बाट फोनिज संघीय कार्यसमितिको सदस्य प्रतिमा चौधरी, डा. शशिभूषण साह, मोतिउर रहमान, विक्रम साह,, गणेश परियार र लालमुनि देवीलाई जनही ११ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो।
कार्यक्रममा ‘पण्डित दीपनारायण मिश्र अन्तर्राष्ट्रिय पुरस्कार–२०८२’ भारतको झारखण्ड राज्य, राँची निवासी भोजपुरी साहित्यकार कनक किशोरलाई प्रदान गरियो। ‘उमाशंकर द्विवेदी राष्ट्रिय पुरस्कार-२०८२’ बाराको कलैया उपमहानगरपालिकाका साहित्यकार रामप्रसाद साहलाई तथा ‘भोजपुरी राष्ट्रिय प्रतिभा पुरस्कार-२०८२’ वीरगन्जका डा. शशीभूषण बर्णवाललाई प्रदान गरिएको थियो।
‘भोजपुरी प्रतिष्ठान प्रोत्साहन पुरस्कार’ रोशन कुमार कलवारलाई पनि नगद ११ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित प्रदान गरिएको प्रतिष्ठानका सदस्य अजय चौरसियाले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर कदरपत्र र नगदसहित पुरस्कार प्रदान गरेका थिए। उनले भाषा र संस्कृतिको संरक्षणमा महानगरपालिका सदैव सकारात्मक रहेको उल्लेख गर्दै भोजपुरी प्रतिष्ठानलाई सुदृढ बनाउन आगामी दिनमा भौतिक संरचना विकासलगायतका योजना अघि बढाइने बताए।
सम्मानित व्यक्तित्वहरूले आफूहरूलाई गरिएको सम्मानप्रति गर्व व्यक्त गर्दै ओझेलमा परेका भाषा–संस्कृतिका साधकहरूलाई खोजेर सम्मान गर्ने कार्य प्रशंसनीय रहेको प्रतिक्रिया दिए।कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले तराई–मधेस क्षेत्रमा भोजपुरी भाषाको विशेष महत्व रहेको उल्लेख गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताए। नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रतिष्ठानको पहलको प्रशंसा गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरे।
भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा योगदान दिने स्रष्टाहरूलाई सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष अनिता साहले जानकारी दिइन्।कार्यक्रममा विभिन्न स्थानका साहित्यकार, कवि, लेखक, पत्रकार, संघसंस्थाका प्रतिनिधि तथा वीरगन्ज महानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। पत्रकार माधुरी महतोले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।