लुम्बिनी- लुम्बिनी प्रदेशसभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ दफावार छलफलका लागि संसदस्य समितिमा पठाएको छ । प्रदेशसभाको आज बसेको १२औँ बैठकले उक्त विधेयक दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको हो ।
बैठकमा विधेयक माथिको प्रस्ताव उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रस्तुत गरेका थिए । यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले आजको बैठकमा समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन् । सातौँ अधिवेशनको १३औँ बैठक सोमबार दिउँसो १ः०० बजे बस्ने जानकारी गराइएको छ । आज बसेको बैठकमा प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले बैठकलाई सम्बोधन गर्दै नेपालको शैक्षिक समस्याको मूल जड विद्यार्थी सङ्गठन नभई शिक्षा प्रणाली नै रहेको बताए ।
बैठकमा प्रदेशसभा सदस्यहरु बसिउद्दिन खाँ, मीनाकुमारी श्रेष्ठ, तुलसीराम शर्मा, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी, बादशाह कुर्मी र चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।