काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले संविधान, कानुन र विधि र प्रक्रियाको उच्चपालना गरी कानुन निर्माणलाई द्रुत रुपमा अघि बढाइने बताएका छन् । संसदीय मामिला पत्रकार समाजसँग आज भएको छलफलमा उनले सदनबाट छिटो कानुन निर्माण हुनसके त्यसको तत्काल लाभ नागरिकले पाउने भएकाले त्यस विषयलाई ध्यान दिन जरुरी रहेको स्पष्ट पारेका हुन्।
सभामुख अर्यालले भने, “कानुन निर्माणमा ढिलाइ हुँदा समाजलाई ठूलो असर पार्ने र त्यसको असर सोचेभन्दा फरक आउन सक्छ भन्ने पाटोलाई ध्यान दिनुपर्छ ।” समाज निर्माणमा सबै क्षेत्रको उत्तिकै भूमिका हुने बताउँदै उनले राम्रा नजिर र असल अभ्यासलाई आत्मसात गर्ने प्रतिबद्धता जनाए ।
सभामुखले भने, “म व्यक्ति नभई इन्ष्टिच्युसनको नेतृत्व गरिरहेको छु । स्वदेशमा मात्र होइन विदेशबाट हेर्दा पनि सम्मान होस् । आफ्नो मूल्यमान्यतामा बसिरहोस् । नचुकोस् भन्ने मेरो मान्यता रहन्छ ।”
संसद्बाट नेपाली जनताले गरेको अपेक्षाभन्दा धेरै र राम्रो नतिजा दिन सकियोस् भन्नेतर्फ आफ्नो ध्यान गएको उल्लेख गर्दै सभामुख अर्यालले कार्यसम्पादनका सिलसिलामा भएका र देखिएका कमीकमजोरी औँल्याइदिएर सहयोग गर्न आग्रह गरे ।
“जेनजी आन्दोलन, जनताको चेतना, वर्तमान परिदृश्य, निर्वाचनपछि गठनभएको सरकार र जनअपेक्षाजस्ता कुराहरुबीच कहीन काही सम्बन्ध जोडिएका पक्षमा ध्यान पु¥याउन आवश्यक छ”, उनले भने ।