काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको १४ लाखभन्दा बढी फलोअर रहेको उनको आधिकारिक फेसबुक बन्द भएको थियो । उनकाे फेसबुक पेज ‘हर्क साम्पाङ ए रिभोलुसन’ बिहीबार दिउँसोदेखि अचानक बन्द भएको हाे।
उक्त सस्पेन्डेड भएको फेसबुक पेज फिर्ता ल्याउने प्रयास चलिरहेको बताएका छन् । पेज सस्पेन्ड भएपछि साम्पाङले सोही नामबाट नयाँ फेसबुक पेज सुरु गर्दै यलम्बर नामप्रति केही मानिसहरूको तीव्र आक्रोशका कारण यस्तो हुन गएको प्रतिक्रिया दिएका छन् । षड्यन्त्र पुर्वक मेरो फेसबुक बन्द गराउनेलाई कारबाही हुन्छ कि नाई भनेर गृहमन्त्रीलाई समेत प्रश्न गरेका छन् ।
यो विवादको सुरुवात सरकारले 'पूर्व-पश्चिम राजमार्ग'को नाम सच्याएर पुनः 'महेन्द्र राजमार्ग' उल्लेख गर्ने निर्णय गरेपछि भएको थियो । साम्पाङले यस निर्णयको विरोध गर्दै तत्कालीन राजाहरूको नामबाट राखिएका नामहरूलाई हलुका रूपमा प्रस्तुत गर्न थालेका थिए । उनले महेन्द्र राजमार्गको सट्टा त्यसको नाम किराँती राजा यलम्बरको नामबाट राख्नुपर्ने भन्दै फेसबुक मार्फत व्यङ्ग्यत्मक टिप्णी गरेका थिए ।
बिहीबार दिउँसो साम्पाङले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि “Safely landed at Yalambar Intl Airport Ktm” भन्दै विमानस्थलको नाम परिवर्तनको आशय झल्किने पोस्ट गरेका थिए । विमानस्थल जस्तो संवेदनशील संरचनाको नाम नै परिवर्तन गरेकाे उक्त पोस्टमा ठुलो सङ्ख्यामा मानिसहरूले रिपोर्ट गरेको पाईएको छ । सोही 'मास रिपोर्टिङ'का कारण उनको फेसबुक पेज सस्पेन्ड भएको बुझिएको छ ।
अहिले उनको पेज खोल्न खोज्दा फेसबुकले ‘यो सामग्री अहिले उपलब्ध छैन’ भन्ने सन्देश देखाइरहेको छ । साम्पाङले आफ्नो नयाँ पेजमार्फत यलम्बर नाम सुन्दा केही मान्छेहरूमा यति धेरै रिस रहेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले आफ्नो सस्पेन्ड भएको पेज रिकभर हुने क्रममा रहेको र छिट्टै सञ्चालनमा आउने विश्वाससमेत व्यक्त गरेका छन् । राजाको नाममा रहेका धरोहरहरूको नाम परिवर्तनको कुरा उठाउँदा पटक-पटक उनी विवादित हुँदै आएका छन् ।