भादगाउँ- बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताहरुको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।
जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकुपटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए । देवीदेवताहरुलाई सगुन पूजा गर्न आ-आफ्ना द्योः छें ९देव घर०बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीहरुले देवीदेवताहरुलाई आ-आफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए ।
यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख छ । बिस्का जात्राकाक्रममा विध्न बाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताहरुको पूजा गर्ने प्रचलनलाई सगुन जात्राको रुपमा लिने गरेको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद् हरिशरण राजोपाध्यले जानकारी दिए ।