काठमाडौं - गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पूर्णरूपमा पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नयाँ संरचनाअनुसार कांग्रेस र एमालेले समान रूपमा चार–चार मन्त्रालय पाएका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट जित शेरचन अर्थमन्त्री बनेका छन् भने नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्।
त्यस्तै, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बनेकी छन् भने नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन्।यसअघि अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेलले सम्हाल्दै आएका थिए। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने यसअघि मुख्यमन्त्री पाण्डेले आफैं सम्हाल्दै आएका थिए।
एमालेतर्फ गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् भने यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री नियुक्त भएकी छन्। लक्ष्मण पाण्डे स्वास्थ्य, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका छन् भने भीम कार्की कृषि मन्त्री बनेका छन्।
यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए। गण्डकी प्रदेशको मन्त्रिपरिषद् हाल ९ सदस्यीय रहेको छ।