काठमाडाैं - सुनमा लगाइएको विलासिता शुल्क (लक्जरी ट्याक्स) हटाउन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले माग गरेको छ । महासंघले आइतबारदेखि जनप्रतिनिधिमार्फत देशव्यापी समन्वय, दबाब तथा अन्तर्क्रिया गर्ने कार्यक्रमको थालनी गरेको हो ।
यसैक्रममा महासंघले सांसद खगेन्द्र सुनारको उपस्थितिमा काठमाडौंमा आइतबार अन्तर्क्रिया गरेको छ । उक्त अवसरमा महासंघ अध्यक्ष किसान सुनारले सुनचाँदी तथा बहुमूल्य पत्थरमा लगाइएको लक्जरी कर, मूल्य अभिवृद्धि कर हटाउनुपर्ने तथा अन्य नीतिगत सुधार गर्नुपर्ने सुझावसहितको ज्ञापनपत्र सांसद सुनारलाई बुझाएका छन् ।
कार्यक्रममा सांसद सुनारले वर्तमान अवस्थामा सुनचाँदी व्यवसाय अत्यन्त कठिन परिस्थितिमा पुगेको उल्लेख गर्दै व्यवसायीलाई एकताबद्ध भई आफ्ना हक–अधिकारका लागि अघि बढ्न आग्रह गरे । व्यवसायमा देखिएका कानुनी जटिलता समाधानका लागि पहल गर्ने उनले बताए ।
अध्यक्ष सुनारले सुनचाँदीको मूल्य निरन्तर वृद्धि हुँदै गएको तथा सरकारले लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)का कारण व्यवसाय गम्भीर संकटमा परेको बताए । महासंघले उक्त करहरू तत्काल खारेज गर्न माग गर्दै विभिन्न चरणमा सरकार तथा सरोकारवालासँग भएको भेटघाट, छलफल तथा समस्या समाधानका लागि तयार गरिएको कार्यविधि र मस्यौदासमेत सरकारसमक्ष पेस गर्दा अपेक्षित सुनुवाइ नभएको उनले बताए ।