काठमाडौं - नयाँ वर्ष २०८३ को अवसर पारेर काठमाडौँ महानगरपालिकाले रात्रिकालीन विद्युतीय बस सेवा सुरु गर्ने घोषणा गरेको छ। साझा बससँगको सहकार्यमा सञ्चालन हुन लागेको यो सेवा राति ८ बजेदेखि ११ बजेसम्म उपलब्ध हुने जनाइएको छ।
महानगरका अनुसार सेवा बुढानीलकण्ठ–लगनखेल तथा एयरपोर्ट–थानकोट रुटमा सञ्चालन गरिनेछ। प्रत्येक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था गरिएको छ, जसले रातिको समयमा यात्रु आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकता दिँदै प्रत्येक बसमा सिसिटिभी निगरानी व्यवस्था गरिएको छ भने एक जना नगरप्रहरीसमेत खटाइने जनाइएको छ।
उक्त सेवा ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा ल्याइनेछ। आगामी दिनमा अन्य स्थानीय तह तथा सरोकारवालासँग सहकार्य गर्दै उपत्यकाभरि सेवा विस्तार गर्ने लक्ष्य महानगरले लिएको छ।महानगरले यस पहललाई सुरक्षित, व्यवस्थित तथा वातावरणमैत्री सार्वजनिक यातायाततर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ।