काठमाडौं - संघीय संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी गरिँदैछ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले यस्तो जानकारी दिएका हुन् ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिएका हुन् ।
सभामुख अर्यालसँग सोमबार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेट गरेका थिए ।समझदारीपत्रको अध्ययनपछि सहकार्यको मोडालिटीबारे थप छलफल गरिने पनि उनले बताए ।यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संसदहरुको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरे ।
साथै डिजिटल संसद निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदान–प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको जनाए । सभामुखले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिए । उक्त भेटमा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे लगायतका अधिकारी तथा यूएनडीपीका प्रतिनिधिहरू सहभागी थिए ।