काठमाडौं- नेपाली लोकबाजा संग्रहालयले स्वर्गीय पत्रकार तथा लेखक पदम श्रेष्ठको स्मृतिमा श्रद्धा–सुमन कार्यक्रम सम्पन्न गरेको छ । श्रेष्ठको ४५औं पुण्यतिथिको अवसर पारेर शुक्रबार टेकुस्थित संग्रहालय परिसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा संग्रहालयका संस्थापक एवं कार्यक्रमका सभापति रामप्रसाद कँडेलले स्वर्गीय पत्रकार श्रेष्ठको तस्बिरमा माल्यार्पण गरी उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनले पत्रकारिता र लेखनमार्फत श्रेष्ठले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । पत्रकार श्रेष्ठको संस्कृति, इतिहास, सम्पदालगायतप्रतिको लगाव र समर्पणबारे चर्चा गर्दै कँडेलले उनको योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका संयोजक शम्भु श्रेष्ठले कार्यक्रमको औचित्य र आगामी योजनाबारे जानकारी गराएका थिए । उनले पत्रकार एवं लेखक श्रेष्ठको योगदानलाई दस्तावेजीकरण गरी राख्नका लागि स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना रहेको बताए । यसका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।
लेखक तथा अनुसन्धाता रविन्द्र तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, लेखक, कलाकार, समाजसेवीलगायतले स्वर्गीय पत्रकार श्रेष्ठको व्यक्तित्व र योगदानमाथि चर्चा गरेका थिए । श्रेष्ठको गत फागुन १४ गते फर्पिङस्थित निवासमा ‘ब्रेन हेमरेज’का कारण निधन भएको थियो । श्रेष्ठको ५७ वर्षको अल्पायुमै निधन हुँदा समाजले ठूलो क्षति व्यहोर्नुपरेको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।
लामो समयदेखि लेखन तथा अनुसन्धानमा क्रियाशील लेखक श्रेष्ठ विशेषगरी सम्पदा, संस्कृति, इतिहासलगायत विषयमा विभिन्न पत्रपत्रिकामा अनुसन्धानमूलक लेख लेख्दै आएका थिए । नेवार, नेपाल मण्डल सम्पदा, नेपाल जात्रा संस्कृति, नेपालका धर्महरु, जातजाति र संघीयतालगायत कृति प्रकाशित गरिसकेका लेखक श्रेष्ठको पछिल्लो कृति योगदानी व्यक्तित्वहरु हो । उनी पत्रकारिताहुँदै लेखन क्षेत्रमा प्रवेश गरेका हुन् । काठमाडौंको लाजिम्पाट स्थायी घर भएका उनी पछिल्लो समय भने फर्पिङमा बस्दै आएका थिए ।