काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । र्यापर र काठमाडौँ महानगरपालिकाका मेयर हुँदै राष्ट्रिय राजनीतिमा उदाएका शाहले प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बधाई सन्देश दिएका हुन्।
प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् । उनले नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
मोदीले सन्देशमा भनेका छन्,
“नेपालका प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई। तपाईँको नियुक्तिले नेपाली जनताले तपाईँको नेतृत्वमाथि गरेको विश्वासलाई प्रतिविम्बित गरेको छ। म भारत-नेपाल मित्रता र सहयोगलाई दुवै देशका जनताको हितका लागि अझ नयाँ उचाइमा पुर्याउन तपाईँसँग मिलेर काम गर्न उत्सुक छु।"
काठमाडौँको शहरी व्यवस्थापन र सुधारका कामका कारण चर्चामा रहेका शाहको प्रधानमन्त्री नियुक्तिपछि छिमेकी देश भारतबाट आएको यो प्रतिक्रिया राजनीतिक वृत्तमा महत्त्वपूर्ण रूपमा हेरिएको छ। विश्लेषकहरूले यसलाई दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने संकेतका रूपमा व्याख्या गरेका छन् ।
