काठमाडौं - वर्तमान अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले आजदेखि आफ्नो 'कुलिङ पिरियड' (विश्राम अवधि) सुरु भएको घोषणा गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एक संक्षिप्त स्टाटस लेख्दै उनले आजैका मितिबाट नयाँ अध्याय सुरु भएको जानकारी दिएको हो।
मन्त्री खनालले सामाजिक सञ्जालमा लेखेका छन् , "आजदेखि कुलिङ पिरियड सुरु भयो। अब उप्रान्त नाम जोडिएका कुनै पनि परीक्षणका कुराहरू (ट्रायल बेलुन) नगर्नुहोला, प्लिज!" उनको यो अभिव्यक्तिले अब आफू सक्रिय सरकारी जिम्मेवारी र मन्त्रालयको कार्यभारबाट बाहिर रहने स्पष्ट संकेत गरेको छ।
हालै सम्पन्न निर्वाचनको अन्तिम प्रतिवेदन निर्वाचन आयोगले सम्माननीय राष्ट्रपतिसमक्ष प्रस्तुत गरिसकेको छ। मुलुक अब नयाँ सरकार गठनको प्रक्रियामा प्रवेश गरिसकेकाले वर्तमान अर्थमन्त्री खनालले नयाँ सरकारलाई बाटो प्रशस्त गर्दै मन्त्रालय नजाने मनसाय व्यक्त गरेकाे देखिन्छ । उनले आफ्नो नामलाई लिएर भविष्यमा हुनसक्ने विभिन्न राजनीतिक अड्कलबाजी र चर्चालाई अहिले नै पूर्णविराम लगाउनसमेत आग्रह गरेका छन्। विज्ञ अर्थमन्त्रीका रूपमा अर्थतन्त्र सुधारका धेरै प्रयासहरू गरेका खनालको यो घोषणासँगै उनको ६ महिने कार्यकाल सुखद रूपमा समापन हुन लागेको देखिएको छ।