काठमाडौं - जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साइन ९ एन-एजेओ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ । एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार साइकल हो ।
‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ । यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७७२ जना यात्रु बोकेको थियो ।
बिदाइका अवसरमा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो याेगदान दियो । यसले बुध्द एयरको बजार विस्तार तथा शाख बढाउन दुवैमा महत्त्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए ।एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट स्टेफानो माराज्जनीले बुध्द एयरसँगको साझेदारीप्रति गहिरो खुशी व्यक्त गर्दै भने – ‘एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो विमानलाई योग्य हात एवम् सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रुपमा सेवा दिन सक्षम भयो । यसले बुध्द एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।’
यसअघि बुध्द एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो । बुध्द एयरले आन्तरिक रुपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ । साथै अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ ।