काठमाडौं - नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको ऐतिहासिक जित पछि अन्तर्राष्ट्रिय क्षेत्रबाट बधाईको ओइरो लाग्न थालेको छ।
यसै क्रममा छिमेकी राष्ट्र भारत,पाकिस्तानका र भुटानका प्रधानमन्त्रीहरुले कसैले सामाजिक सञ्जाल एक्स (X) मार्फत त कोहिले फोन गरेर रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका वालेन्द्र शाह(बालेन)लाई विशेष बधाई ज्ञापन गरेका छन् ।
नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको ऐतिहासिक जितपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष चासो देखाएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल 'एक्स'मार्फत रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिएका छन् ।
मोदीले लेखेका छन् , "नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलता र व्यक्तिगत जितका लागि दुवै नेताहरूलाई बधाई दिएको छु। आगामी नयाँ सरकारसँग मिलेर दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि काम गर्न भारत प्रतिबद्ध छ।"
-1773295185.jpeg)
प्रधानमन्त्री मोदीको शुभकामनालाई धन्यवाद दिँदै बालेन शाहले सामाजिक सञ्जाल फेसबूक र एक्समार्फत जवाफ फर्काउदै नेपाल र भारतबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । रोचक कुरा त के छ भने, बालेनले राजनीतिक बधाईको जवाफ दिने क्रममा भारतले लगातार दुई पटक विश्वकप क्रिकेटको उपाधि जितेकोमा भारतीय सरकार र जनतालाई हार्दिक बधाई समेत नेपाली भाषामा दिएका छन् । बालेनको यो नेपाली भाषा र 'क्रिकेट कुटनीति' ले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।
त्यस्तै पाकिस्तानका प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्स (X)मा रास्वपाका सभापति रवि लामिछाने रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह(बालेन)लाई विशेष बधाई ज्ञापन गरेका छन्। उनले आफ्नो सन्देशमा लेखेका छन् , "नेपालको सन् २०२६ को निर्वाचनमा उल्लेखनीय विजय हासिल गर्नुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र बालेन्द्र शाहलाई मेरो हार्दिक बधाई छ। यो बलियो जनादेशले नयाँ र गतिशील नेतृत्वप्रति नेपाली जनताको भरोसालाई झल्काउँछ। पाकिस्तान नेपालको नवनिर्वाचित सरकारसँग मिलेर काम गर्न र हाम्रो ऐतिहासिक मित्रता तथा सहयोगलाई अझ सुदृढ बनाउन तत्पर छ।"

प्रधानमन्त्री सरिफको यो सन्देशले नेपालमा भएको राजनीतिक परिवर्तन र युवा नेतृत्वको उदयलाई छिमेकी मुलुकहरूले निकै चासो र महत्त्वका साथ हेरिरहेको पुष्टि गर्दछ।
बालेन शाहको कुटनीतिक जवाफ
पाकिस्तानी प्रधानमन्त्रीको बधाईको प्रतिउत्तर दिँदै झापा क्षेत्र नं ५ बाट भारी मतका साथ विजयी भएका र रास्वपाका तर्फबाट प्रधानमन्त्रीको मुख्य दाबेदार मानिएका बालेन शाहले कुटनीतिक र सद्भावपूर्ण जवाफ फर्काएका छन् । शाहले लेखेका छन् , "सम्माननीय शहबाज सरिफज्यू, तपाईंको अनुग्रही शुभकामनाका लागि म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। पाकिस्तान सधैँ एक सुन्दर राष्ट्र र दृढ मित्रका रूपमा रहेको छ।"
बालेनको यो संक्षिप्त तर सन्तुलित जवाफले आगामी दिनमा नेपालको परराष्ट्र नीतिमा युवा नेतृत्वले लिने परिपक्वताको संकेत गरेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामाना र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको बधाई पछी भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पनि सामाजिक सञ्जाल मार्फत विशेष सन्देश पठाएको छ। भुटानी प्रधानमन्त्री तोब्गेले बालेन शाह र रवि लामिछानेलाई मेन्सन गर्दै लेखेका छन् , "नेपालको आम निर्वाचनमा शानदार विजय हासिल गरेकोमा हार्दिक बधाई। म हाम्रा दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु।"

यसको जवाफमा बालेन शाहले भुटानलाई एक "सुन्दर देश" भन्दै आगामी दिनमा सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएका छन्।पाकिस्तानी प्रधानमन्त्री सरिफको बधाई , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका प्रधानमन्त्रीबाट प्राप्त शुभकामना सन्देशले नेपालको यो निर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले कति गम्भीरताका साथ हेरिरहेको छ भन्ने प्रष्ट पारेको छ। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (X) मार्फत रास्वपाको ऐतिहासिक जित र बालेन शाहको उदयलाई "नयाँ युगको सुरुवात" भन्दै सहकार्यको प्रतिबद्धता जनाएका छन् ।
क्षेत्रीय स्थिरताको आशा: बालेन शाह र रास्वपाले प्राप्त गरेको भारी बहुमतलाई छिमेकीहरूले नेपालमा राजनीतिक स्थिरताको आधारका रूपमा स्वागत गरेका छन्। झापा-५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेपछि बालेन शाहको कद अन्तर्राष्ट्रिय स्तरमै बढेको छ, जसका कारण छिमेकी राष्ट्रहरू उनीसँगको सम्बन्धलाई प्राथमिकतामा राखिरहेका देखिन्छन्। भर्खरै सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ झन्डै दुई-तिहाइ सिट जितेर नेपालको संसदीय इतिहासमै नयाँ अध्याय सुरु गरेको छ। विशेषगरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गढ मानिने झापा-५ मा बालेन शाहले ५० हजारभन्दा बढी मतान्तरले प्राप्त गरेको जितलाई 'युग परिवर्तन' को संज्ञा दिइएको छ।
अघिल्लो वर्ष भएको 'जेन-जी' (Gen Z) आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरतालाई चिर्दै रास्वपाले ल्याएको यो नतिजाले पुराना राजनीतिक शक्तिहरूलाई पाखा लगाएको छ। ३६ वर्षीय बालेन शाह नेपालको इतिहासमै सबैभन्दा कम उमेरको र पहिलो मधेसी मूलको प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ। निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गर्ने तयारी गरिरहँदा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त यस्ता बधाई सन्देशहरूले नयाँ बन्ने सरकारको वैधानिकता र विश्वव्यापी स्वीकार्यतालाई थप बल पुर्याएको छ। रवि लामिछाने र बालेन शाहको नेतृत्वमा बन्ने आगामी सरकारले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई कसरी अगाडि बढाउँछ भन्ने कुरा अबको मुख्य चासोको विषय बनेको छ।