काठमाडौं - मतगणना सकिएसँगै निर्वाचनसम्बन्धी इकाइहरु बन्द भएका छन् ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई प्रभावकारी बनाउन स्थापना गरेका विभिन्न विशेष इकाइ तथा समन्वय केन्द्रहरूलाई निर्वाचन आयोगले आजबाट बन्द गरेकाे हाे ।
गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले विभिन्न विशेष इकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो । ती इकाइहरू बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबिच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको थियो
मतदाता र आम सर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि २०८२ माघ ५ गतेदेखि कल सेन्टर र सुरक्षा निकायबिच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (सञ्चालनमा ल्याइएको थियो ।
मतदान एवम् मतगणनाको कार्य सम्पन्न भइसकेको सन्दर्भमा ती इकाइ तथा समन्वय केन्द्रहरू आयोगको बुधबारदेखि लागू हुनेगरी बन्द गरिएको आयोगकासहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्धन इकाइले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना पहिचान र विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाएको छ ।
केन्द्र मातहतकै विद्युतीय मतदाता शिक्षा इकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी भिडिओ र पोस्टर गरी ७०४ वटा सामग्री निर्माण गरी आयोगको डिजिटल प्लेटफर्मबाट प्रकाशन तथा प्रसारण गरेको छ ।साथै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका ८ हजार २२० जिज्ञासाको सम्बोधन गरेको छ ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र र निर्वाचन सामग्री ढुवानीमा सुरक्षा समन्वय तथा ट्रयाकिङ गर्ने, हवाइ ढुवानी कार्ययोजनाको तयारी र कार्यान्वयन एवम् समन्वय, मतदान केन्द्रसम्म मतपत्र र निर्वाचन सामग्री ढुवानीको ट्रयाकिङको काम गरेको छ ।साथै निर्वाचन सुरक्षासम्बन्धी विभिन्न सूचना संकलन, विश्लेषण, समन्वय र प्रतिवेदनलगायतका काम त्रुटिरहित तवरले सम्पादन गरी निर्वाचन सुरक्षा समन्वय र व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यसम्पादन गरेको छ ।