काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकी छन् ।
अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित भएको उल्लेख गरिन् । उनले भनेकी छन्, “उनीहरुलाई अझै विश्वास गरिहाल्ने र ? भन्ने मनोविज्ञान ज्युँ का त्यूँ छ । हिजो चुलाचौकामा बेहोरेको विभेद्को नयाँ स्वरुप आज कार्यस्थलमा छ ।” अब हाम्रो लक्ष्य केवल सहभागिता बढाउने मात्र होइन, अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
“अहिले शिक्षाको विस्तार भएको छ, चेतनाको स्तर उठेको छ । त्यसैले महिला अधिकारका लागि अझ दृढताका साथ अगाडि बढिरहेका छन् । हामीले यो पनि बुझ्नुपर्छ कि सबै महिलाको अवस्था समान छैन,” सन्देशमा भनिएको छ । उनले समाजमा पछि परेको, विकासको मूलधारबाट वञ्चित समुदायका महिला अझै बढी प्रताडित भएको पनि उल्लेख गरिन् । उनले विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका महिला तथा सीमान्तकृत समुदायका महिलाको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिविम्बित हुन आवश्यक रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले समानता, सशक्तीकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको र त्यो दायित्व राज्यको मात्र नभइ राजनीतिक दलहरू, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगत, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदारको साझा जिम्मेवारी भएको उल्लेख गरेकी छा् ।
उनले भनेकी छन्, “जब महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्नेछन्, तब मात्र लोकतन्त्र सुदृढ हुन्छ । तब मात्र संविधानको मर्म कार्यान्वयन हुन्छ । तब मात्र समृद्ध, न्यायपूर्ण र समतामूलक नेपाल निर्माण सम्भव हुन्छ ।” उनले दिवसले हामी सबैमा समानता, न्याय, समावेशीता र लोकतान्त्रिक चेतनालाई अझ सशक्त बनाओस् भन्ने शुभकामना पनि गरिन् ।