काठमाडौं - नेपाल पूर्वप्रहरी संगठनले जेठ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको यथार्थ छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसकेको स्मरण गराउँदै यस्तो अवस्थामा अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने ढंगले बीबीसीले सामग्री प्रशारित गर्नु उपयुक्त नभएको बताएको छ।
विज्ञप्तिमा बीबीसीले प्रकाशित गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै घटनाको गहिरो विश्लेषण नगरी नेपाल प्रहरीमाथि एकपक्षीय आरोप लगाइएको दाबी गरिएको छ। यसले प्रहरी संगठनको छवि धुमिल पार्ने र आम नागरिकमा भ्रम सिर्जना गर्ने जोखिम रहेको उल्लेख गरिएको छ।
संगठनले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको नेपाल प्रहरीप्रति पूर्वाग्रही धारणा नबनाउन आग्रह गरेको छ। साथै, छानबिन आयोगको निष्पक्ष प्रतिवेदन सार्वजनिक नभएसम्म धैर्य गर्न सबै सरोकारवालालाई अपिल गरिएको छ।