काठमाडौं - शिखर पावर डेभलपमेन्ट लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल १८ लाख ४२ हजार छ सय कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।
निष्कासन गरिएको शेयरमध्ये एक लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार चार सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम् १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सकिनेछ ।
कम्पनीका अनुसार यो शेयर छिटोमा फागुन २६ गतेसम्म र ढिलोमा चैत १ गतेसम्म खुला रहनेछ । शेयर निष्कासनको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरका ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।