काठमाडौं -आजदेखि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । चुनाव अवधिभरका लागि ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णय गरेसँगै प्रतिबन्ध लागेको हाे ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा योजना अन्तर्गत मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।यही फागुन २१ गते बिहान सात बजेदेखि मतदान सुरु हुनेछ ।
सुरक्षा वस्तुस्थितिको आँकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिस समेतका आधारमा निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक अन्य निर्णय समेत उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट भएर कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार यही फागुन १८ गते राति १२ बजेदेखि नर्वाचन प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।
अत्यावश्यक सेवाका सवारीसाधनमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन रहेका छन् ।