काठमाडौं- अघिल्लो निर्वाचनमा नेकपा एमालेले आफ्नो अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ का रुपमा ‘ब्राण्डिङ’ गरेको थियो । एमाले ओलीको डमी बनाउनेदेखि ‘केपी बा’को नाममा चुनावी गीतहरुसमेत बनाए ।
राजनीतिक दलले गर्नुपर्ने एजेण्डाको ब्राण्डिङ हो तर अनुहार ब्राण्डिङतिर लाग्यो । यो भनेको पपुलिजम हो । पपुलिजमतिर जानु राम्रो होइन ।
केशव दाहाल
राजनीतिक विश्लेषक
यसपटक भने एमालेको सिको गर्दै नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल, श्रम संस्कृतिजस्ता पार्टीले पार्टी सभापतिदेखि चर्चित नेताहरुको ब्राण्डिङ गरेका छन् । कांग्रेसले सभापति गगन थापालाई ब्राण्डिङ गरेको छ । ‘अबकी बार, गगन सरकार’ कांग्रेसको नारा नै हो । कांग्रेस केन्द्रीय समितिले गगनलाई भावी प्रधानमन्त्रीको रुपमासमेत अघि सारेको छ ।
कांग्रेसका अधिकांश उम्मेदवारले गगनलाई प्रचार सामग्रीमा अटाएका छन् । गगनको नाममा गीत बनिसकेको छ । बिपी कोइरालापछि गगनलाई कांग्रेस २.० को रुपमा ब्राण्डिङ गरेको छ । कांग्रेसले भिजन १० को नाममा २०० पृष्ठको लामो एजेण्डा अघि सारेको छ । यद्यपि, गगनलाई अघि सार्दा एजेण्डा भने छायामा परेको नेताहरु बताउँछन् ।
समाजमा नागरिकले रुचाउने पात्र चाहिन्छ । नागरिकले रुचाएको मान्छेलाई प्रयोग गर्दा मत प्रभावित हुन्छ ।
राम गुरुङ
राजनीतिक विश्लेषक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई अत्यधिक ब्राण्डिङ गरेको छ । झापा-५ मा एमाले अध्यक्ष ओलीसँगै प्रत्यासी रहेका बालेनको नाममा चुनावी गीतहरु बनेका छन् । ओली आफ्नो क्षेत्रमा अड्डा जमाएर बस्दा बालेनले पूर्वपश्चिमका अधिकांश चुनावी क्षेत्र घुम्न भ्याएका छन् । पछिल्लोपटक बालेन आफ्ना सभापति रवि लामिछानेसँगै सभाहरुमा निस्कन थालेका छन् । बालेनको माग बढेसँगै रास्वपा पनि उत्साही देखिन्छ । रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै बनाएको नारा हो- अबकी बार, बालेन सरकार । रास्वपाले अघि सारेका २२ पृष्ठको एजेण्डाको विषयमा खासै चर्चा हुन सकेको छैन ।
शीर्ष दलहरुले नै यसरी अनुहार ब्राण्डिङ गर्दा एजेण्डा भने ओझेलमा परेको बताउँछन् राजनीतिक विश्लेषक केशव दाहाल । ‘राजनीतिक दलले गर्नुपर्ने एजेण्डाको ब्राण्डिङ हो । तर अनुहार ब्राण्डिङतिर लाग्यो,’ दाहालले भने । यो पूर्णरुपमा लोकप्रियतावादतिर गएको र देशका लागि हितकर नभएको दाहाल बताउँछन् । ‘पपुलिजमतिर जानु राम्रो होइन,’ उनले भने । मतदाताहरु अहिले गगन वा बालेन को प्रधानमन्त्री बन्लान् भन्ने विषयमा चियागफमा ‘डिबेट’ गर्न थालेका छन् । कोही नयाँ पार्टीलाई मौका दिनुपर्ने भन्दै बालेनको पक्षमा उभिन्छन् भने कोही अनुभवी नेता गगनलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा उभिन्छन् ।
उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई ब्राण्डिङ गर्दा श्रम संस्कृति पार्टीले हर्क साम्पाङलाई अघि सारेको छ । घिसिङ र साम्पाङ दुवै प्रधानमन्त्रीका दाबेदार हुन् । यो लहरमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पछाडि परेका छन् । जनता समाजवादी पार्टीका नेताहरु पनि यो दौडमा देखिन्नन् ।
देशभर यस्तो माहोल बन्दा अघिल्लोपटक एमालेले ब्राण्डिङ गरेको ‘ओली बा’ भने यसपटक ओझेलमा परेको छ । उनका प्रिय पात्रहरुलेसमेत प्रचार सामग्रीमा ओलीको फोटो राखेका छैनन् । जेन-जी विद्रोहले फालेको सरकारको नेतृत्व गरेका ओली अहिले चौतर्फी प्रश्नले घेरिएका छन् । जसले गर्दा मत बिग्रने डरले एमालेका उम्मेदवारहरुले ओलीलाई ब्राण्डिङ नगरेको बताउँछन् दाहाल । ‘एमालेसँग एजेण्डा पनि छैन । ओलीको अनुहार पनि बिक्दैन,’ दाहालले भने ।
एमाले महासचिव शंकर पोखरेलदेखि सचिव महेश बस्नेतले पनि ओलीलाई आफ्नो प्रचार सामग्रीमा अटाएका छैनन् । यो पटक एमालेसँग खासै एजेण्डा पनि देखिँदैन । एमालेका नेताहरु भने देश जोगाउने मूल विषय अहिले आफ्नो एजेण्डा भएको बताउँछन् । त्यसैले अनुहारभन्दा एजेण्डामा एमालेको विश्वास हुने एमाले प्रचार विभागका प्रमुख मिनबहादुर शाही बताउँछन् । ‘अहिलेको अवस्थामा मुख्य एजेण्डा भनेको देश जोगाउने विषय हो । राष्ट्रियता जोगाउने विषयलाई एमालेले एजेण्डा बनाएको छ,’ शाहीले भने ।
समाज अहिले एजेण्डाभन्दा पनि पात्रको पछि दौडेको बताउँछन् अर्का राजनीतिक विश्लेषक राम गुरुङ । यही कारण अहिले नेताहरुको ब्राण्डिङ हुन थालेको गुरुङ बताउँछन् । ‘समाजमा नागरिकले रुचाउने पात्र चाहिन्छ । नागरिकले रुचाएको मान्छेलाई प्रयोग गर्दा मतमा थप प्रभाव पर्छ,’ गुरुङले भने ।