काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान बालुवास्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको तारेभिर जंगलमा लागेको वन डढेलो नियन्त्रणमा सिम्रिक एयरले निःशुल्क सहयोग गरेको छ ।
आइतबार बिहान ९ः४५ बजेदेखि लागेको आगो नियन्त्रणका लागि गृह मन्त्रालयको निर्देशन र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा सिम्रिक एयरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रूपमा १३ पटक पानी ओसारी आगो निभाउन सघाएको हो ।
यसबाट तत्काल आगो बागद्वार तथा बस्तीतर्फ जानबाट रोकिएको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताए ।उनका अनुसार आगलागी नियन्त्रणकार्यमा थप मद्दतका लागि सुरक्षाकर्मी, निकुञ्जका कर्मचारीलगायत स्थानीय निकायको सहभागिता रहेको थियो । उक्त हेलिकप्टर सेवा प्रदायक कम्पनीको महत्वपूर्ण सहायता प्राप्त भएको जनाउँदै गृह मन्त्रालयले हार्दिक आभार प्रकट गरेको छ ।