कञ्चनपुर- माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ । प्रत्येक गाउँमा बरघर (बघरीया) र भलमन्साको आँगनमा गाउँका सबै सदस्य भेला भई सामूहिक रूपमा सुँगुर काट्ने तथा आ–आफ्नो गच्छे र आवश्यकताअनुसार मासु खरिद गरेर लैजाने परम्परा छ ।
‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष चहलपहल देखिएको छ । पछिल्ला वर्षहरूमा केही स्थानमा सुँगुरको सट्टा खसीको मासु प्रयोग गर्ने चलन पनि बढ्दै गएको छ ।
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा चार वटा टोलका लागि चार वटा सुँगुरको व्यवस्था गरिएको बरघर राजु चौधरीले जानकारी दिए । “एउटै सुँगुरले नपुग्ने भएकाले प्रत्येक टोलका लागि एक–एक वटा सुँगुरको व्यवस्था गरी माघी पर्वका लागि मासुको जोहो गरिएको छ”, उनले भने।
वर्ष दिनकै ठूलो पर्व भएकाले यस अवसरमा परिवार, आफन्त र पाहुनालाई पेटभर मासु खुवाउने परम्परा रहेको चौधरीको भनाइ छ । “पाहुना लाग्न आएका सबैलाई सम्मानपूर्वक मासु खुवाएर बिदा गरिन्छ”, उनले भने । जिता मर्नाको रातिदेखि थारु समुदायमा ढुमरु गीत गाउने, डफ तथा मादल बजाउने र छोकरा तथा झुमरा नाच नाच्ने चलन रहँदै आएको बरघर चौधरीले जानकारी दिए ।
पिपलाडीका ७० वर्षीय कल्लु चौधरीका अनुसार रातभर डफमा गीत गाएर युवापुस्तालाई थारु संस्कृति र परम्पराबारे जानकारी गराउने तयारी गरिएको छ । यसले संस्कृति जगेर्ना, पुस्तान्तरण तथा संस्कृतिको प्रचारप्रसार हुने भएकाले ज्येष्ठ नागरिक मिलेर ‘सम्धी समूह’ गठन गरिएको उनले बताए।
यसै अवसरमा महिलाहरूले चामलको पिठोबाट विशेष तरिकाले ढिक्री बनाउने, तिलको लड्डु, मुरही, रोटी र खरिया तयार गर्दछन् । साथै सखरखण्डी, तरुल, भण्टा, केराको तरुवा, अण्डी धानको उसिनेको भात, खिचडीलगायत मौलिक परिकार पनि पकाइन्छन् ।
थारु समुदायमा माघ महिना लागेपछि सुँगुरलगायत जनावरको बध गर्न नहुने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको स्थानीय थारु बुद्धिजीवी धनबहादुर कुश्मीले बताए । उनका अनुसार माघ लागेको दिन रगत देखिनु हुँदैन भन्ने जनविश्वास रहँदै आएकाले पुसको अन्तिम दिन मात्रै जनावरको बध गर्ने परम्पार चल्दै आएको छ ।
“माघ लागेपछि जनावर बध गरिँदैन, तर माघअघि काटिएका सुँगुर वा अन्य जनावरको मासु माघी पर्वका अवसरमा परिवार, आफन्त र पाहुनासँग परम्परागत परिकारसहित खाने गरिन्छ”, उनले भने । थारु समुदायले प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाउने माघी पर्व एउटा चाड मात्र नभई नयाँ वर्षको सुरुआत, सामाजिक एकता, आत्मसम्मान र पहिचानको प्रतीकका रूपमा रहेको छ ।
विशेषगरी कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका थारु समुदायमा माघी पर्वलाई अत्यन्त महत्वका साथ मनाइन्छ । माघीलाई थारु समुदायले ‘नयाँ वर्ष’ का रूपमा लिने परम्परा रहँदै आएको छ । पुरानो वर्षका दुःख, पीडा बिर्संदै नयाँ आशा, नयाँ संकल्प र नयाँ जीवनशैलीको सुरुआत गर्ने अवसरका रूपमा माघी पर्वलाई हेरिने गरिएको छ ।