- चालु आवको पाँच महिनामा कूल ४१ हजार ४४६ जना महिला श्रम स्वीकृति लिएर महिला रोजगारीमा
- सीप सिकेर जाने महिलाको संख्या पनि बढ्दो
- महिलाहरुको प्रमुख रोजगार गन्तव्य खाडी मुलुक
काठमाडौं- चालु आर्थिक वर्षको मंसिर महिनामा ६५ हजार ७०५ जना रोजगारीका लागि विदेसिएकामा सात हजार ६२२ जना महिला छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मंसिरमा १०८ वटा मुलुक नेपाली श्रमिकको रोजगार गन्तव्य बन्दा महिला श्रमिक गएका मुलुक ५९ वटा छन् ।
पछिल्ला वर्षहरुमा रोजगारीका लागि विदेसिने महिलाको संख्या बढ्दो क्रममा छ । विभागको तथ्यांकले नै यसलाई पुष्टि गर्छ । चालु आवको पाँच महिनामा कूल ४१ हजार ४४६ जना महिला श्रम स्वीकृति लिएर महिला रोजगारीमा गएका छन् । अघिल्लो आवको यसै अवधिमा ३७ हजार ७२१ जना महिला विदेसिएका थिए ।
त्यसअघिका वर्षहरुको तथ्यांक हेर्दा रोजगारीमा जाने महिलाहरुको संख्या क्रमशः बढेको पाइन्छ । आव २०७५/७६ मा ३२ हजार १२३ र आव २०७६/७७ मा २८ हजार ४३३ जना महिला रोजगारीको खोजीमा विभिन्न मुलुक गएको तथ्यांक छ । त्यसपछि, आव २०७७/७८ मा कोरोना महामारीका कारण रोजगारीमा जानेहरुको संख्या न्यून हुँदा ११ हजार ४५६ महिला विदेसिएका थिए ।
कोरोना महामारीपछि भने पुनः विदेसिनेको संख्या बढेको छ । आव २०७८/७९ मा ४९ हजार १२८ जना, २०७९/८० मा ७२ हजार १३४ जना, २०८०/८१ मा ८० हजार १७२ र २०८१/८२ मा ९४ हजार ४५५ जना महिला विदेसिएका छन् ।विभागको तथ्यांकअनुसार रोजगारीमा जानेमात्र नभई सीप सिकेर जाने महिलाहरुको संख्या पनि बढ्दो छ । आव २०७५/७६ मा रोजगारीमा ३० हजारभन्दा बढी जाँदा ६० प्रतिशतभन्दा बढी अर्थात् १९ हजार ४४२ जना अदक्ष कामदार गएका थिए ।
उक्त आवमा जम्मा १९ जना महिला उच्च दक्ष श्रमिकको रुपमा गएका थिए । तर चालु आव २०८२/८३ को पाँच महिनामा ४० हजारभन्दा बढी रोजगारीमा जाँदा अदक्ष श्रमिकको संख्या २० प्रतिशतको हाराहारीमा झरेको छ । यस अवधिमा नौ हजार ११३ जनामात्र अदक्ष महिला कामदार विदेसिएका छन् भने १८ जना उच्च दक्ष महिला रोजगारीमा गएका छन् ।
सामाजिक मूल्यमान्यता प्रमुख कारण
पछिल्लो समय महिलाहरु विदेसिने क्रम बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासन दिवसका अवसरमा सार्वजनिक गरेको राष्ट्रिय श्रम आप्रवासन प्रतिवेदनले यस्तो देखाएको हो । पितृसत्तात्मक सामाजिक मूल्य मान्यता, लैंगिक विभेद, महिलाहरुले गर्ने कामप्रतिको मानसिकता र परिवारका सदस्य तथा श्रीमान्बाट उत्पीडनमा पर्नु उनीहरु विदेसिनुको मुख्य कारण भएको उक्त अध्ययनमा उल्लेख गरिएको छ । पुरुषहरु भने गरिबी र बेरोजगारीको कारणले विदेसिने गरेको पाइएको छ ।
महिलाहरुको प्रमुख रोजगार गन्तव्य खाडी मुलुक बन्दै आएका छन् । प्रतिवेदनअनुसार खाडी मुलुकमा विभिन्न मुलुकका ५८ लाख घरेलु कामदारका रुपमा कार्यरत रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओको)को तथ्यांक छ । जसमा ३५.४ प्रतिशत महिला कामदार छन् । उक्त तथ्यांकअनुसार सन् २०२२ मा कुवेतमा रहेका घरेलु कामदारमध्ये चार प्रतिशत नेपाली महिला थिए । घरेलु कामदार महिलाहरु विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकको स्याहारसुसार र घरायसी सरसफाइका लागि जाने गरेका छन् ।
प्रतिवेदनले महिलाहरु आप्रवासनको पूरै चक्रमा मानवअधिकारविरुद्धका समस्यामा पर्ने गरेका छन् । घरेलु महिला कामदारको राहदानी जफत हुने, हिंसामा पर्ने, आवागमनमा प्रतिबन्ध र असुरक्षित वातावरणमा काम गर्न बाध्य रहेको बताइएको छ ।केही वर्षयता घरेलु महिला कामदारमाथि रोजगारीमा जान प्रतिबन्ध लगाइएका कारण गैरकानुनी माध्यमबाट रोजगारीमा जाने गरेका छन् । यसरी गैरकानुनी रुपमा जानेको तथ्यांक सरकारसँग छैन । घरेलु कामदारलाई प्रतिबन्ध लगाइनु हुन्छ या हुँदैन भन्नेमा पनि बहस हुँदै आएको छ ।