जुम्ला - जिल्ला सदरमुकाम खलङ्गा बजारमा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला लाग्ने भएको छ । यहाँको चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जाको सहयोगमा यही मङ्सिर २७ गते कृषि जैविक विविधता तथा खाद्यपरिकार प्रदर्शनी मेला सञ्चालन हुने भएको हो ।
चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले स्थानीय कृषि उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए । उनका अनुसार प्रदर्शनी मेलामा किसान, कृषि उपभोक्ताले उत्पादन गरेको रैथाने परिकारको अवलोकन गर्न सकिनेछ ।
मेलामार्फत जैविक विविधताको जगेर्ना र परम्परागत खाद्य संस्कृतिको पुनःजीवन हुने विश्वास लिइएको प्रशासकीय अधिकृत बुढथापाले बताए ।
सुरक्षित, पोषणयुक्त र स्थानीय उत्पादनको प्रयोगले सामुदायिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले मेलाले जनचेतनामा ठूलो योगदान पुर्याउने नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले विश्वास व्यक्त गरे ।
यहाँको कृषि सम्भावना, परम्परागत प्रजाति संरक्षण तथा जैविक कृषि प्रवर्द्धनमा प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । किसानका नवीन उत्पादन, मौलिक बीउबिजन तथा स्थानीय खाद्य परिकार एकै ठाउँमा प्रदर्शन गरिनुले जिल्लाको कृषि पहिचान मजबुत बनाउने अवसर भएको नगरपालिकको कृषि शाखाले जनाएको छ ।