नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ सञ्जय ढकालकाअनुसार यस वर्ष जिल्लामा ७८ हजार ५०६ मेट्रिक टन धान उत्पादन भएको हाे ।
गत आर्थिक वर्षमा नवलपुरमा ७१ हजार १२१ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष सात हजार ३८५ मेट्रिकटन धान उत्पादन वृद्धि भएको कृषि अर्थ विज्ञ ढकालले बताए । नवलपुरमा यस वर्ष १८ हजार ६९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ७१६ हेक्टर क्षेत्रफलमा धान खेती भएको भए पनि असोजको बाढीका कारण डुबान, प्रतिकुल मौसमका कारण सावा मन्सुली धानमा बाला नलाग्ने समस्या देखिँदा उत्पादन कम भएको थियो ।
यसवर्ष आकाशे पानीको भरमा सिँचाइ गरिने ठाउँमा रोपाइँको क्षेत्रफल घटेको भए पनि उत्पादकत्व बढी भएकाले उत्पादन ढकालको भनाइ छ । गत वर्ष धानको उत्पादकत्व ३ दशमलब ८ मेट्रिक टन प्रति हेक्टर भएकोमा यसवर्ष उत्पादकत्व बढेर ४ दशमलब २ मेट्रिक टन प्रति हेक्टर पुगेको छ ।
नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको छ ।