काठमाडौं - राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्ससामु जितका लागि एक सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेपछि विराटनगरले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो । विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे ।
यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए । प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए । यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए । विराटनगरका दुई ब्याटर रनआउट भए ।
बलिङतर्फ जनकपुर बोल्टस्का रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा भने सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ ।