काठमाडौं- राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरे । सुदूपश्चिमलाई पराजित गर्दै कर्णाली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ ।
कर्णालीले तीन खेलमा दुईमा जित तथा एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको कर्णालीले दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा भने कर्णाली काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । कर्णालीको ४ अंक छ ।
यस्तै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले कर्णालीलाई हराउँदै जित हासिल गर्न चाहन्छ । तेस्रो संस्करणको एनपिएलमा सुदुरपश्चिमले चार खेल खेलेको छ । जसमा दुई खेलमा जित हासिल गर्दा दुई खेलमा पराजय भोगेको छ ।
सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेट तथा तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित भएको हो । त्यसैगरी दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग ६ तथा चौथो खेलमा चितवन राइनोजसँग ५ विकेटले विजयी भएको थियो । सुदुरपश्चिमको पनि समान ४ अंक नै छ ।