- अध्यादेश जारी भएपछि थपिए साढे आठ लाख मतदाता
- थपिएकामध्ये धेरै जेन–जी पुस्ता
- नयाँ मतदाता १० लाख १६ हजार
- हरेक चुनावमा बढ्दै मतदाता
राष्ट्रिय परिचयपत्र भएकाको विवरण र तस्बिरमा जसरी प्रणालीबाटै निर्वाचन आयोगलाई पहुँच दिने व्यवस्था गरियो । त्यसपछि उत्साहप्रद रूपमा मतदाता थपिए
नारायणप्रसाद भट्टराई
प्रवक्ता, निर्वाचन आयोग
काठमाडौं– राष्ट्रिय परिचयपत्र भएकाको हकमा त्यसको विवरण र तस्बिरमा प्रणालीमार्फत निर्वाचन आयोगलाई पहुँच हुने व्यवस्था गरिएपछि अधिक मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार अध्यादेश ल्याएर आयोगलाई त्यसरी पहुँच दिएको २६ दिनमा आठ लाख ३७ हजार ९४ जना मतदाता थपिए ।
थपिएकामध्ये पुरूष चार लाख ७३ हजार ३४५ छन् । महिला ३ लाख ६३ हजार ७७८ जना र अन्य ६१ जना रहेको आयोगले जनाएको छ । आयोगका अनुसार नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ जना र राष्ट्रिय परिचयपत्र(इनआइडी)को बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उत्साहजनक रूपमा मतदाता थपिएको बताए ।
‘मतदाता हुन योग्यता पुगे पनि धेरै जेन–जी छुटेको गुनासो आयो र त्यसलाई सम्बोधन गर्न सरकारले अध्यादेश ल्याएर राष्ट्रिय परिचयपत्र भएकाको विवरण र तस्बिरमा जसरी प्रणालीबाटै निर्वाचन आयोगलाई पहुँज दिने व्यवस्था गरियो,’ उनले प्रभावसँग भने, ‘त्यसपछि उत्साहप्रद रूपमा मतदाता थपिए ।’
यसपटक नयाँ मतदाता १० लाख १६ हजार ७५४ जना छन् । उनीहरूले आगामी २१ फागुनमा पहिलोपटक मतदान गर्दैछन् । आयोगका अनुसार नयाँमध्ये धेरै मतदाता जेन–जी विद्रोहपछि थपिएका हुन् । अध्यादेश जारीपछि उत्साहजनक रूपमा मतदाता थपिएको आयोगले जनाएको छ । यससँगै कुल मतदाता संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । यसअघि २०७९ को प्रतिनिधिसभा चुनावका लागि मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० जना थिए ।
यसपटक भने मतदाता उल्लेख्य रूपमा बढेको पाइएको हो । चुनाव भने आगामी २१ फागुनमा हुँदै छ । २७ भदौमा जेन–जी विद्रोहपछि गठित नागरिक सरकारी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा गरेकी थिइन् । त्यही दिन ताजा जनादेशका लागि चुनाव घोषणा गरिन् । तर, गत २३ र २४ भदौको जेन–जी विद्रोहका सरोकारवाला मतदाता नै नभएको गुनासो आएको थियो । त्यसपछि सरकारले अध्यादेश ल्याएर उनीहरूलाई सम्बोधन गरेपछि कतिपय जेन–जी समूह र दलले ठाउँठाउँमा स्टल राखेरै मतदाता नामावलीमा नाम दर्तामा सहयोग गरेका थिए ।
आयोगले कुल मतदातामध्ये मृत्यु भएका वा उजुरी परेकाहरूको टुंगो लगाउने भने बाँकी छ । आगामी १५ पुसम्ममा टुंगो लगाएर अन्तिम मतदाताको नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए । नामावलीमा कुनै त्रुटि भए सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए उजुरी दिन र कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन आयोगले आह्वान गरेको छ । मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको मंसिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिने आयोगले जनाएको छ ।
त्यस्तो उजुरी वा सूचना आयोगकै वेभसाइट वा सम्बन्धि प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा दिन सकिने छ । आयेगले प्राप्त गुनासा, उजुरी वा सूचनाबारे सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गराउने भएको छ । पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन आयोगको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
बढ्दै मताधिकारी
हरेक पटकको चुनावमा मतदाता संख्या बढेको देखिएको छ । पछिल्लो तीन वटा चुनावको मतदाता संख्या हेर्दा त्यो देखिन्छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार २०७४ सालको प्रतिनिधिसभा चुनावका लागि मतदाता संख्या एक करोड ५४ लाख २७ हजार ७ सय ३१ थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २५ लाख ६० हजार बढ्यो । कुल मतदाता त्यसबेला एक करोड ७९ लाख ८८ हजार ५७० जना भए ।
अब २१ फागुनमा हुने चुनावमा १० लाख १६ हजार बढी नयाँ मतदाता थपिए । तर, २०७४ सालको प्रतिनिधिसभा चुनावमा ६८ दशमलव ६७ प्रतिशत मत खसेको थियो । २०७९ को प्रतिनिधिसभा चुनावमा ६१ प्रतिशत मात्रै मत सख्यो । यसपटक कति खस्छ ? टुंगो छैन । २०७० सालमा भएको संविधानसभा चुनावमा सर्वाधिक ७८ दशमलव ७४ प्रतिशत मत खस्दा २०६४ को पहिलो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ ६१ दशमलव ७ प्रतिशत र समानुपातिकतर्फ ६३ दशमलव ३ प्रतिशत मत खसेको आयोगले जनायो ।
२०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा ६५ दशमलव ७९ प्रतिशत र २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा ६१ दशमलव ८६ प्रतिशत मत र त्यसअघि २०४८ सालमा ६५ दशमलव १५ प्रतिशत मत खसेको थियो ।